तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा तीन प्रतिशत मत खस्यो

दिपायल। डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाका १७८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया हुँदै गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले जानकारी दिनुभयो ।

“शान्तिपूर्ण र भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्,” उहाँले भन्नुभयो,”कुनै पनि स्थानमा अप्रिय घटना नहुन सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।”

मतदान सुरु भएदेखि ३ घण्टाको अवधिमा ३ प्रतिशत जति मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत पाण्ड्येले बताउनुभयो । बिहानको समय भएका कारण मतदाताहरु कमै मात्रामा मतदान केन्द्रमा पुग्नुभएको छ,” उहाँले भन्नुभयो,”यहाँका मतदाता ढिलो गरी मतदान गर्न आउनु हुँदो रहेछ । मतदान केन्द्रमा त्यस्तो भीडभाड देखिँदैन । लाइनमा मतदाता काम देखिन्छन्।”

जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।

डोटीमा मतदानका लागि ११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र तोकिएको छ ।

१० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र १३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा छुट्याएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button