झापामा करदाता सप्ताह शुरु
झापा । झापामा करदाता सप्ताह शुरु भएको छ । आज आन्तरिक राजश्व कार्यालय भद्रपुरको कार्यालय परिसरमा एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर सप्ताहको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रजिअ रिजालले कर्मचारीहरूलाई करदातामैत्री बन्न आग्रह गर्नुभयो । उहाँले कर उठाउने संरचनामा सुधार गरिएको र कर उठाउने काममा धेरै काम भएको बताउनुभयो । उहाँले करको दायरा बढाउन निजी क्षेत्रलाई बृहत् परिचालन गर्न जरुरी बताउँदै राष्ट्रिय लगानीमा ७० प्रतिशत योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्नुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीलाई कर शिक्षासम्बन्धी तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले खुला सीमाका कारण व्यवसायी धेरै मारमा परेको समेत गुनासो गर्नुभयो ।
झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठले कर तिर्नु भनेको देशको विकास भएको बताउनुभयो ।
नेपाल चाटर्ड एकाउन्टेन्ट संघ झापाका अध्यक्ष सीए सुशील अग्रवालले करदाता शिक्षामा धेरै ठूलो समस्या रहेको औँल्याउँदै करसम्बन्धी नयाँ योजना ल्याउँदा विशेषज्ञहरूसँग छलफल गरेर ल्याउनुपर्ने बताउनुभयो ।
कर सप्ताह ७ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गर्ने भएको छ । भद्रपुर कार्यालयका कार्यालय सहयोगी बोजप्रसाद दुलाल र इलामका करदाता दीपक घिमिरेलाई सम्मान गर्न लागिएको हो ।
भद्रपुर कार्यालय अन्तर्गत ट्रेडिङतर्फ कनिष्का ओभरसिज प्रालि मेचीनगर, उद्योगतर्फ अम्बे भवानी प्लाइबोर्ड उद्योग प्रालि बिर्तामोड र सेवातर्फ ओमसाई पाथीभरा हस्पिटल भद्रपुर तथा इलाम सेवा केन्द्र अन्तर्गत ट्रेडिङतर्फ फिक्कल उत्तम स्टोर र पाँचथर अन्तर्गत ट्रेडिङतर्फ शिव गौरी सप्लायर्स तथा सेवातर्फ ताप्लेजुङ बहुउद्देश्यीय सहकारीलाई सम्मान गर्न लागिएको प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिनुभयो ।
यसअघि हिजो बिर्तामोडमा बृहत् र्यालीका साथ राष्ट्रिय कर दिवस मनाइएको थियो ।







प्रतिक्रिया राख्नुहोस्