तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री मतदान स्थलमा पुग्यो 

राजविराज  ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन कार्यालय आसपास क्षेत्रमा रहेका मतदान स्थलबाहेक सप्तरीका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ । 

मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको जिल्ला निर्वाचन कार्यालय सप्तरी जनाएको छ  ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित चार हजार दुई सय ८८ कर्मचारी र सुरक्षाका लागि तिन हजार दुई सय ७८ म्यादी प्रहरी तथा १ हजार ६ सय ३४ नेपाल प्रहरीलाई खटाइएको मुख्य सहायक निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो । 

निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री मतदानस्थल पुर्‍याएका छन्।

१८  स्थानीय तह रहेको सप्तरीमा दुई सय ९५ मतदानस्थल, पाँच सय ३६ मतदान केन्द्र तोकिएका छन् । 

मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button