जुम्ला दुर्घटना : घाइते आठ जनामध्ये तीनकाे अवस्था गम्भीर

जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका ८ स्थित जनजागृती मावि (ताम्ती) मतदान केन्द्रमा खटिएको टोलीलाई लिएर गएको भे १ च २१८८ नम्बरको बोलेरो जिप आज दिउँसाे साढे २ बजे दुर्घटना भएको थियो ।
तिला गाउँपालिका ४ स्थित रावतबाडा भन्ने ठाउँमा एक्कासी गाडी अनियन्त्रित भई त्रिवेणी–टोप्ला सडक खण्डको २० मिटर तल खसेकाे थियाे । जिप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये तीन जनाको अवस्था जटिल रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वोन्दबहादुर शाहीले बताउनुभयो । गम्भीर घाइते हुनेमा जुम्ला चन्दननाथ १० का अंगराज गिरी, तातोपानी ४ निवासी सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने र सल्यान निवासी प्रहरी हवल्दार सुरज चन्द रहेका छन् ।
त्यस्तै अन्य पाँच जना भने सामान्य घाइते छन् । जसमा मतदान अधिकृत चन्दनाथ १० निवासी हरिप्रसाद देवकोटा, प्रहरी जवान कालीकोट निवासी राजेन्द्र विष्ट, तातोपानी ५ की आशा चौलागाईं, धादिङ निवासी सिताराम दराई र तातोपानी ४ निवासी चालक शुरेस सार्की रहेका छन् । सबै घाइतेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार निर्वाचन सामग्री सबै सुरक्षित गरिएको छ । अब ताम्ती मतदान केन्द्रका लागि नयाँ टिम खटाइने प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्