मकवानपुरमा निर्वाचनका लागि २४ घण्टा सवारी आवागमन बन्द गरिने
मङ्सिर १ गतेदेखि मदिरा ओसारपसार तथा विक्री वितरणमा रोक
मकवानपुर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मङ्सिर ४ गते मकवानपुरमा निजी तथा सार्वजनिक सवारी साधन आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार एक सूचना जारी गर्दै निर्वाचनका दिन बिहान ५ बजे देखि भोलि पल्ट बिहान ५ बजेसम्म (२४ घण्टा) अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कडेँलद्धारा जारी सूचनामा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरिएको छ ।
यसैगरी, स्थानीय प्रशासनले मङ्सिर १ गते राती १२ बजेदेखि मङ्सिर ५ गते दिउँसो १२ बजेसम्म जिल्लाभर र मतगणना हुने मतगणना स्थल (हेटौँडा–२, स्थित सिद्धार्थ मा.वि.को चार सय मिटरको आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जारी सूचना विपरीतका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरीतका कार्य एवम् निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्