तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली निर्वाचन क्षेत्र नं ४ मा दुई पूर्वमन्त्री बीच प्रतिस्पर्धा

धनगढी । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलालीको निर्वाचन क्षेत्र नं ४ मा दुई पूर्व मन्त्रीबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।  यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्री द्वय एवं नेकपा एमालेका सचिव लेखराज भट्ट र नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । 

सभापति बलायर सत्ता गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । कैलाली निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका भट्ट,  काँग्रेसका बलायर सँगै राप्रपाका जयबहादुर धामी, नागरिक उन्मुक्तिका कैया चौधरी, नेमकिपाका सिताराम पण्डित, रास्वपाका गोविन्द भट्ट, सघीय समाजवादीका भीम थापामगर, मौलिक जिरोकिलोका चेतराज साउद, जनता प्रगतिशीलका मोहनदेव मिश्र, स्वतन्त्र मेघराज जोशी चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । यो निर्वाचन क्षेत्रमा १० जना चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा एमालेका भट्ट र गठबन्धनका बलायर बिच हुने राजनीतिक विश्लेषकहरूको भनाई छ । 

कैलाली ४ बाट २०६४ र २०७४ को निर्वाचनमा जित हासिल गरेका भट्ट २०७० सालको चुनावमा पराजित भएका थिए । यस्तै डोटीबाट २०७० सालको चुनावमा जित हासिल गरेका बलायर २०७४ सालको निर्वाचनमा पराजय भएका थिए । भट्ट यसपालिको निर्वाचनमा  साख जोगाउने कसरतमा हुनुहुन्छ भने बलायर जितको खोजीमा देखिनुहुन्छ । दुवै जनालाई पार्टीभित्र प्रभावशाली नेताका रुपमा लिने गरिन्छ । गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका वडा नं ५ (एउटा वडा) रहेको कैलाली निर्वाचन क्षेत्र नं ४ मा १ लाख १० हजार ४५३ मतदाता रहेका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसका वडाअध्यक्षहरुले २३ हजार ९ मत र एमालेका वडाअध्यक्षहरुले २० हजार ८० मत प्राप्त गरेका थिए । यस्तै माओवादी केन्द्रका वडाअध्यक्षहरुले ९ हजार ३४२ मत र नेकपा एकीकृत समाजवादीका वडाअध्यक्षहरुले ३ हजार ७०४ मत ल्याएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button