प्राविधिक शिक्षाका विद्यार्थीहरू उत्पादनमा जोडिँदै

गोरखा । सामुदायिक विद्यालयका प्राविधिक धारमा अध्ययनरत प्रभातकिरण माध्यमिक विद्यालय भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ की आँचल कुमाल टनेल भित्र गोलभेँडा गोलमेलमा व्यस्त देखिनुभयो ।
विद्यालयले निर्माण गरेको टनेलमा कृषि तर्फको प्राविधिक अध्ययन गरिरहेका विद्यार्थीहरू काम गरिरहेका भेटिन्छन् । उहाँले भन्नुभयो, “सरले सैद्धान्तिक कक्षा पढाउनु भएपछि प्रयोगात्मक कक्षा अनिवार्य छ, यसका लागि हामी सबै साथीहरू उत्पादनमा जोडिने गरेका छौँ । विषय वस्तु र मौसम अनुसारको वाली उत्पादन गरी विद्यालय र वरपर छिमेकीहरूलाई विक्री गर्दछौँ । यतिबेला सिर्जना जातको गोलभेँडा उत्पादन भएको छ र कन्या च्याउ भर्खरै लगाएका छौँ ” ।

शिक्षक विशाल महताराका अनुसार विद्यार्थीहरू आफ्नै सीप प्रयोग गरेर उत्पादनमा रमाउँदा शिक्षणमा थप हौसला मिलेको बताउनुहुन्छ ।
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत २०७४ सालमा सिटिइभिटिको सम्बन्धनमा यहाँ प्राविधिक धारको कक्षा चलिरहेको विद्यालयका प्रधानाध्यापक वासुदेव सापकोटाले बताउनुभयो । सैद्धान्तिक शिक्षालाई व्यवहारिक प्रयोगमा ल्याउनु नै वैज्ञानिक शिक्षा भएको उहाँको भनाइ छ । अहिले विद्यालय शिक्षा पछि ३३ जनाले स्नातक तहको अध्ययन गरिरहेका विद्यालयको रेकर्ड छ ।

सेमेस्टर प्रणालीमा अध्यापन हुने यस विद्यालयमा १८ महिने जेटिए कार्यक्रम समेत सञ्चालनमा रहेको छ । ग्रामीण क्षेत्रमा स्थापना भएका प्राविधिक शिक्षण संस्थाहरूले स्थानीय स्तरमा आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुर्याएको नेपाल शिक्षक महासङ्घ गोरखाका संयोजक गोपालबाबु मरहट्टाको भनाइ छ ।
यस वर्ष जिल्लाको सरस्वती मावि बोर्लाङ र जनशक्ति मावि नामजुङले सिभिल इन्जिनियरिङ तर्फको सम्बन्धन ल्याएर कक्षा सञ्चालन गरिरहेका शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्य बताउनुहुन्छ ।









प्रतिक्रिया राख्नुहोस्