तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

लेखनाथ । पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् ।

पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको लेखनाथमा आयोजित बगाले बगेडी चरा संरक्षणसम्बन्धी गोष्ठीमा बगाले बगेडी चरासम्बन्धी अनुसन्धानकर्ता अनिषा राणाले साइबेरिएन क्षेत्रबाट जाडो छल्न नेपाल आउने उक्त प्रजातिको चरा विश्वव्यापी तथा राष्ट्रिय स्तरमै अत्यन्त न्यून सङ्ख्यामा रहेको जानकारी दिनुभयो ।

कात्तिक महिनाको अन्त्यमा नेपाल आउने आगन्तुक बगाले बगेडी चरा छ महिना नेपालमै बसेर जेठ महिनामा साइबेरियातर्फ नै फर्किने गर्छन् । पोखराका केही तालको सिमसार क्षेत्रमा यिनीहरूको वासस्थान रहने गरेको छ । अनुसन्धानकर्ता राणाले भन्नुभयो, “सर्वेक्षण गरेअनुसार औसत रूपमा पोखराको फेवा तालमा दुई सय ३० वटा, गुँदे तालमा १२ वटा र खाष्टे तालमा १३ वटा बगाले बगेडी भेटिएको छ । अन्य छ वटा तालमा यो चरा भेटिएको छैन । सिमसार क्षेत्र, कृषि भूमि र घाँसे मैदानमा उक्त चराको वासस्थान रहने गर्छ ।

बगाले बगेडी चरा भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी अर्का अनुसन्धानकर्ता अमृत पौडेलले दिनुभयो । उहाँका अनुसार यो औसत तौल २२ ग्राम र लम्बाइ १४ देखि १६ सेन्टिमिटर भएको सानो चरा हो । जाडो मौसममा रुस, मङ्गोलिया, चीन लगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । यसको औसत आयु सात वर्ष रहेको छ ।

पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अति सङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको जानकारी पौडेलले दिनुभयो । उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय पोखराका वन अधिकृत शालिग्राम पराजुलीले ताल तलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिँदै जाँदा बासस्थान विनाश र अव्यवस्थित रूपमा विषादीको प्रयोगलगायतका कारणले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पार्ने गरेको बताउनुभयो ।

उक्त अवसरमा बगाले बगेडी चरा संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालमा आठ सय ८६ प्रजातिका चरा अभिलेखीकरण भएको र विश्वमा ११ हजार दुई सय २५ प्रजातिका पक्षी रहेको जानकारी दिइएको थियो । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पन्छीलाई संरक्षित पन्छी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पन्छी हो ।

ग्रीष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका चरा जाडो छल्न नेपाल आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउनुका साथै ७९ प्रजातिका चरा भने फिरन्तेका रूपमा देखिने गरेका छन् ।

सन् २००४ देखि २०१७ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अति सङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिइएको छ ।

पोखरामा नौ वटा ताल भए पनि यहाँ चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै जाने गरेको जानकारी पोखरा महानगरपालिकाका वातावरण अधिकृत निर्मलमानसिंह भण्डारीले दिनुभयो ।

सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै त्यस्तो चराको संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचो देखिएको गुँदे ताल संरक्षण समितिका अध्यक्ष वामदेव ढुङ्गानाले बताउनुभयो । बेगनासताल संरक्षण समितिका प्रतिनिधि कृष्ण ढुङ्गानाले स्थानीयस्तरमा ताल वरपरका बासिन्दालाई पक्षी मैत्री वातावरण सृजना गर्न जनचेतनामूलक कार्यक्रम दिनुपर्नेमा जोड दिनुभयो ।

नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले वातावरण र जैविक विविधताका बारेमा राजनीतिक दलका नेतालाई जानकारी गराई नीतिगत रूपमै सिमसार क्षेत्रको महत्त्वको बारेमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन व्यवसायी दामोदरभक्त थापाले पर्यापर्यटनमा चराको ठूलो महत्त्व हुने भएकाले उनीहरूको वासस्थान जोगाई राख्न र हरेक वर्ष ती चरा नेपालमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । विकाससँगै विनाश पनि आएकाले सिमसार क्षेत्र मासिँदै गएको भनाइ उहाँको छ ।

पोखराका नौ वटै ताल फेवा, बेगनास, रुपा, खाष्टे, न्यूरेनी, मैदी, गुँदे, दिपाङ र कमल ताल चराका लागि संरक्षित स्थान भएकाले ती तालको वातावरण बिगार्ने काम मानवबाट हुन नहुने भनाई फेवा ताल संरक्षण समितिका भरतराज तिवारीको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button