तपाईँ सुन्दै हुनुहुन्छः

सुवर्ण शमशेर राणाको ४५ औँ स्मृति : स्मृति ग्रन्थको विमोचन

भक्तपुर । नेपाली कांग्रेसका संस्थापक नेता तथा लेजेण्डरी अर्थमन्त्री स्व.सुवर्ण शमशेर राणाको ४५औँ स्मृति दिवसको अवसरमा राणाको योगदानको चर्चा गरिएको छ । 

सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयको आयोजनामा आज भक्तपुरको सिपाडोलमा आयोजित स्मृति दिवस तथा सुवर्ण स्मृति ग्रन्थ विमोचन कार्यक्रममा वक्ताहरूले राणाको योगदानको चर्चा गर्नुभएको हो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति नवीन प्रकाश जङ्ग शाह तथा परिषद्का अध्यक्ष उद्धव ढुङ्गानाले स्मृति ग्रन्थको विमोचन गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति शाहले कांग्रेसका संस्थापक मध्येका एक नेता सुवर्णको उचित मूल्याङ्कन हुन नसकेको गुनासो गर्नुभयो ।

सुवर्ण शमशेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उहाँको सम्मानका लागि परिषद् स्थापना गरेर योगदानको चर्चा गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

सुवर्ण शमशेरका आफन्त समेत रहनुभएका पूर्व उपकुलपति शाहले त्रिविका प्रथम उपकुलपति सुवर्ण शमशेर रहनुभएको र उहाँको पालामा तत्कालीन राजा महेन्द्रले कु गरेको स्मरण गर्दै आफु त्रिविको उपकुलपति रहँदा पनि तत्कालीन राजा ज्ञानेन्द्रले राज्य सम्पुर्ण शक्ति आफ्नो हातमा लिएको स्मरण गर्नुभयो ।

परिषद्का अध्यक्ष उद्धव ढुङ्गानाले आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहनुभएका र कांग्रेसका धेरै नेतालाई बन्दी जीवनमा रहँदा आर्थिक सहयोग गर्नुभएका सुवर्ण शमशेरले २०१५ सालमा काँग्रेसले बहुमत ल्याएको बखत बिपीलाई प्रधानमन्त्री बन्न आग्रह गरेर त्याग गरेको बताउनुभयो ।

उहाँले कांग्रेस पछिल्लो समय सत्तामा केन्द्रित हुँदा त्याग गर्ने नेता छायामा पर्ने गरेको बताउनुभयो ।

सो अवसरमा परिषद्का महासचिव श्रीभद्र ओझा, सचिव सरु बानिया लगायतले सुवर्ण शमशेरमा इमानदारी र त्यागको गुण पर्याप्त रहेको बताउँदै नेपाली राजनीतिमा उहाँजस्ता त्याग गर्न सक्ने नेताको खाँचो रहेको औँल्याउनुभयो ।

ग्रन्थमा कांग्रेसका संस्थापक सभापति तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालादेखि विभिन्न ५९ विशिष्ट लेखकका सुवर्ण शमशेर बारेका लेख तथा उहाँसँग सम्बन्धित ऐतिहासिक पत्र तथा फाटोहरू समावेश छन् ।

परिषद्ले आगामी दिनमा सुवर्ण शमशेरका समकालीन व्यक्तित्वसँगको उहाँको योगदान बारेको कुराकानी तथा उहाँले १७ बर्ष नेपाली काँग्रेसको अध्यक्षको जिम्मेवारी सम्हाल्दा भएका पार्टीका निर्णयहरूको दस्ताबेज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button