तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा समस्या

प्रशासनमा ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार महासङ्घ टिम । तस्बिर : सागर परियार

जुम्ला । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा समस्या भएको छ । 

जुम्लामा अहिले इन्टरनेट सेवा र भ्वाइसकल पूर्ण रुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई मारमा परेका छन् । 

भ्वाईसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशन लगायतका कामहरू पनि प्रभावित भएका छन् । 

भ्वाईसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोरजी देखिने टुजी बजारको काम नगर्ने समस्या भएको उपभोक्ता बताउँछन् ।  

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटक पटक अवरुद्ध हुँदा नागरिकले सास्ती खेप्नुपरेको जनगुनासो बढेको छ । 

सञ्चार सेवामा समस्या भएको गुनासोपछि नेपाल पत्रकार महासङ्घ जुम्लाले आज जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराइएको छ । 

“जिल्लामा फोरजी सेवा सञ्चालन भए पनि टुजी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटक पटक अवरुद्ध हुँदा सरकारी तथा गैर सरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चार गृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथासक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।” महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकोले सुधारका लागि पहल भइरहेको बताउनुभयो । उहाँले क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकोले चिमारा र माइथाप्लामा क्षमता वृद्धिको लागि काम भइरहेको बताउनुभयो । 

पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको बताउनुभयो । 

“सार्वजनिक चासोको विषयलाई उजागर गर्न महासङ्घले ध्यानाकर्षण गराएका छौँ। चाडै सुधार नभए अन्य दबाबका कार्यक्रम अघि बढाइने छ ।” उहाँले भन्नुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगतको  महत्त्वपूर्ण  भूमिका हुने बताउँदै उहाँले मतदाताको गुनासो सुनुवाई गर्नु, उम्मेदवारका एजेण्डा बाहिर ल्याउनु, निर्वाचन केन्द्रित अन्य गतिविधिको सत्य तथ्य समाचार सम्प्रेषण गर्नु सञ्चार क्षेत्रको दायित्व पनि हो तर जुम्लामा सञ्चार अस्तव्यस्त छ भन्नुभयो । 

नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियू र ओडियू सिस्टममा समस्या आएको बताउनुभयो । 

उहाँले नयाँ मेसिन जडाको काम भइरहेकोले शुक्रबार साँझबाट सुधार हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button