अछाममा मतदाता शिक्षाका लागि नमूना मतदान

अछाम । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमूना मतदान कार्यक्रम अछामको मंगलसेनमा सम्पन्न भएको छ ।
मंगलसेन नगरपालिका स्थानीय मतदाता शिक्षा समन्वय समितिको आयोजना तथा जिल्ला निर्वाचन कार्यालय अछामको समन्वयमा नमूना मतदान कार्यक्रम गरिएको हो ।

नमूना मतदान कार्यक्रममा जम्मा ३१ जनाले मतदान गरेकोमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ एक÷एक मत बदर भएको थियो भने समानुपातिकतर्फ सत प्रतिशत मत सदर भएको थियो ।
मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिने र सम्भावित बदर मत हुने अवस्था विश्लेषणका लागि नमूना मतदान कार्यक्रम गरिएको जनाईएको छ ।
नमूना मतदान कार्यक्रमबाट चुनावी माहोल बढ्दै जानुका साथै मतदाता शिक्षा थप विस्तार हुने मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा मतदाता शिक्षा कार्यक्रम समन्वय समिति संयोजक खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
नगरपालिकाका १४ वटै वडामा महिला स्वास्थ्य स्वंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम टोल स्तरमै संचालन भईरहेको उहाँको भनाई छ ।
अछामका सबै १० वटै पालिकामा मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमूना मतदान कार्यक्रम गर्ने योजना रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।
हालसम्म ७ वटा पालिकामा नमूना मतदान कार्यक्रम भईसकेको जिल्ला निर्वाचन अधिकारी कृष्णसिंह नायकले बताउनुभयो ।

मंगलसेनमा भएको नमूना मतदान कार्यक्रममा मंगलसेन नगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, रामारोशन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सरस्वती रावल, वडा नम्वर ४ का अध्यक्ष नामसिंह धामी, मंगलसेन नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद उपाध्याय, शिक्षा अधिकृत जगत रावल, वडानम्वर ३ का निवर्तमान अध्यक्ष पदमसिंह भाट, निर्वाचन कार्यालयका नासु गजेन्द्र थारुलगायत स्थानीयहरु र व्यापारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्