तपाईँ सुन्दै हुनुहुन्छः

आधिकारिक सूचनाले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग गर्छ : सञ्चार सचिव अर्याल

काठमाडौँ ।  “प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र मिडिया कभरेज” सम्बन्धी रेडियो नेपालमा सञ्चालित तालिमको दोस्रो दिन आज निर्वाचनका क्रममा मिडियाको भूमिका छिटो छरितो निष्पक्ष सत्यतथ्य र आधिकारिक कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ । 

आजको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष डा बैकुण्ठ अर्यालले निर्वाचनको समयमा सार्वजनिक सञ्चार माध्यमले विश्वसनीय, निष्पक्ष र सन्तुलित समाचार सामग्री मार्फत मतदातालाई सुसूचित गर्नुपर्ने बताउनुभयो । 

निर्वाचनको समयमा सार्वजनिक सञ्चार माध्यमको भूमिका विषयको प्रस्तुतिका क्रममा सञ्चार सचिव अर्यालले विश्वसनीय र आधिकारिक सूचनाले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग पुर्‍याउने बताउनुभयो । 

कार्यक्रमका निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सर्वस्वीकार्य बनाउन सञ्चार माध्यमको प्रमुख भूमिका रहने बताउनुभयो । 

निर्वाचनमा रेडियो रिपोर्टिङ विषयको प्रस्तुतिका क्रममा आयोगका सचिव दुवाडीले सबै पक्षबाट निर्वाचन आचारसंहिताको पालना हुने वातावरण बनाउन पनि सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले निर्वाचन कभरेजमा ध्यान दिनुपर्ने विषयहरू, रेडियो नेपालका समाचार महाशाखा प्रमुख पवन कुमार प्याकुरेलले समाचारमा निर्वाचनका विषयवस्तुहरू तथा मुख्य सम्वाददाता प्रमोद दाहालले निर्वाचन रिपोर्टिङका समस्या र समाधानहरूबारे प्रस्तुति दिनुभएको थियो । 

भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सञ्चालित तालिममा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार अन्तर्गत समाचार महाशाखा र कार्यक्रम महाशाखामा कार्यरत कर्मचारीहरू तथा सबै जिल्लाका जिल्ला सम्वाददाताहरूको सहभागिता रहेको छ । 

तीन दिन सम्म चल्ने तालिमको भोलि समापन हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button