तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले तोक्यो धानको समर्थन मूल्य            

काठमाडौँ । सरकारले यस वर्षका लागि धानको नयाँ समर्थन मूल्य तोकेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०७९/८० का लागि मोटा धान प्रति क्विन्टल  २ हजार ९ सय ६७ रुपैयाँ र  र मध्यम धान प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ । 

गत आर्थिक वर्षमा सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।  

गत वर्षको तुलनामा यस आर्थिक वर्षका लागि तोकिएको मोटा धानको मूल्य प्रति क्विन्टल २ सय १५ रुपैयाँले बढेको छ भने मध्यम धानको मूल्य प्रति क्विन्टल २२६ रुपैयाँले बढेको छ ।

न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानहरूसँग धान किन्ने व्यवस्था रहेको छ ।

यसैगरि  न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान किन्नका लागि ३३ करोड बजेट व्यवस्था रहेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको   न्यूनतम समर्थन मूल्यमा धान किन्नका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने छ । 

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा  धान किन्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको छ । 

गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मे.टन धान सरकारले किनेको थियो । यस आर्थिक वर्षमा ३ लाख मे.टन धान किन्नका लागि सरकारले ३३ करोड रकम विनियोजन गरेको कृषि मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button