निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड
काठमाडौँ । सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम, उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तरक्रियात्मक हुनुपर्ने बताउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उहाँहरूले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तरक्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले काउन्सिलको गठन संरचनामै त्रुटि रहेको हुँदा यसले गर्ने कामकारबाही र प्रभावकारितामा प्रश्न चिह्न उठ्दै आएको बताउनुभयो । काउन्सिललाई संसद् मातहत लैजानुपर्ने उहाँको सुझाव छ ।
प्रेस काउन्सिल नेपालका पूर्व कावा अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरीत भए/नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
काउन्सिलका पूर्व कावा अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चारमाध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराउनुभयो ।
महासङ्घका पूर्व सभापति विष्णु निष्ठुरीले पत्रकार र सञ्चारमाध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने उहाँको भनाइ थियो ।
महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले निर्वाचनको समयमा जति धेरै अन्तरक्रिया हुन सक्यो त्यति नै सही उम्मेदवार निर्वाचित हुने भन्दै सञ्चारमाध्यमले पूर्वाग्रहरहित रूपमा उम्मेदवार र दलका विषयमा मतदातालाई सुसूचित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सत्यता, पक्षधरता, पुनरावृत्ति, दुष्प्रचारयुक्त आदि विषयमा अनुगमन केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारमाध्यमले भ्रमपूर्ण प्रचार गरेका भए काउन्सिलले कारबाही गर्नुपर्ने जनाउँदै उहाँले स्वनियन्त्रणलाई काउन्सिलले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिताको पुनरावलोकन गर्नुपर्ने समय आएको बताउनुभयो ।
महासङ्घका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै विष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी काउन्सिल अघि बढ्न नहुने बताउनुभयो ।
महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चारमाध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी लागू भएको भन्दै सञ्चारमाध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताउनुभयो । सञ्चारमाध्यममा जति धेरै सम्पादकीय स्वतन्त्रताको उपयोग हुन सक्यो उति नै धेरै प्रेस स्वतन्त्रताको रक्षा हुने उहाँको भनाइ थियो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले सरोकारवाला तथा विज्ञको सुझावको आधारमा काउन्सिल अघि बढ्ने भन्दै स्वतन्त्र प्रेसको रक्षा र सञ्चारमाध्यमलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन काउन्सिल सधैँ सक्रिय रहने प्रष्ट पार्नुभयो ।
काउन्सिलले निर्वाचनको समयमा सञ्चारमाध्यमले प्रस्तुत गर्ने समाचार सामग्रीको निरन्तर अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिएको बताउनुभयो । काउन्सिलको कात्तिक ६ गते बसेको बोर्ड बैठकले निर्वाचन अनुगमनलाई देशव्यापी र प्रभावकारी बनाउन अध्यक्ष बस्नेतको संयोजकत्वमा दुवै संस्थाका पूर्व अध्यक्ष सम्मिलित आचारसंहिता अनुगमन सुझाव समिति गठन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्