कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन गठबन्धन गम्भीर छ : प्रचण्ड

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, साहित्य, सभ्यता, संस्कृति र कृषि उत्पादनका हिसाबले आत्मनिर्भर कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन गठबन्धन सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने सुनिश्चित भएकोले जुम्लाकी अब्बल महिला नेतृ कुँवरलाई सङ्घको मन्त्री बनाइने छ ।
दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि जुम्लाले मन्त्री पाउने बताउनु भएको छ । । प्रचण्डले जुम्लाकी महिला नेतृ गोमा कुँवरलाई सङ्घको मन्त्री बनाउने घोषणा गर्नुभयो । तीन दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न सोमबार जुम्ला पुगेका प्रचण्डले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनपछि जुम्लाकी महिला नेतृ गोमा कुँवरलाई सङ्घको मन्त्री बनाउने घोषणा गर्नु भएको हो ।

प्रचण्डले भन्नुभयो,“जुम्लाले मन्त्री पाएपछि कर्णाली राजमार्ग दुई लेनको निर्माण गर्नुका साथै यहाँको मार्सी, स्याउ, ओखरको बजार प्रवर्द्धन, खानेपानी, शिक्षा, स्वास्थ्य, सिचाइको विकास तथा पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र समग्र जुम्लाको विकासमा टेवा पुग्ने छ । जसका लागि कर्णालीबाट गठबन्धनका सबै उम्मेदवारलाई जिताउन अपरिहार्य छ ।”
आगामी बजेटमा साविक कर्णालीको विकासलाई पहिलो प्राथमिकता दिइने प्रचण्डले आश्वासन दिनुभयो ।
गठबन्धन सरकार कर्णाली र सुदूरपश्चिमको विकासका लागि विगतदेखि चिन्तित रहेको बताउनुभयो । यो गठबन्धन मुलुक र जनताको हितका लागि भएको समेत प्रचण्डको दाबी छ ।
काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले आगामी निर्वाचनपछि गठबन्धनकै सरकारले बन्ने ठोकुवा गर्नुभयो । कर्णालीबाट प्रतिगामी, संविधान विरोधीलाई शून्य सिटको पराजय भोग्ने गरी गठबन्धनले बहुमत ल्याउनु पर्नेमा जोड दिनुभयो । सम्भावना भएर पनि गरिब कर्णालीलाई राज्यको मुल प्रवाहमा ल्याउन र यहाँका सम्भावनालाई अवसरमा बदल्न गठबन्धन सरकारको विकल्प नरहेको उपसभापति खड्काको भनाई छ ।

माओवादी नेतृ कुँवर यतिबेला गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएकी छन् । गठबन्धनबाट जुम्ला निर्वाचन क्षेत्र (क) मा ललितजंग शाही, निर्वाचन क्षेत्र (ख) का पदम रोकाया प्रदेश सभा सदस्यको उम्मेदवार हुन् ।
२०७० सालमा राज्य मन्त्री भइसकेकी कुँवर चुनाव जित्न काँग्रेस र समाजवादीको साथ रहको भन्दै संविधान कार्यान्वयन र जुम्लाको विकासका लागि गठबन्धनको जित सुनिश्चित रहेको बताउँनुहन्छ । मुलुकमा राजनीति स्थिरता कायम गर्न जुम्लाको कृषि पर्यटनको विकास र महिला सशक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको कुँवरको भनाई छ ।
प्रत्यक्ष तर्फ कर्णालीकै पहिलो महिला उम्मेदवारका रुपमा इतिहास रच्ने अवसर प्राप्त भएकोले जनताबाट बहुमतले अनुमोदित हुने दाबी कुँवरको छ । त्यस्तै चुनावी सभामा प्रदेश (क) का उम्मेदवार ललित जङ्ग शाही, प्रदेश (ख)का पदम रोकायाले प्रतिगामी शक्ति हराउँदै जुम्लामा तीन दलीय गठबन्धनले राम्रो जनमत पाएर जित्ने बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्