तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा बढ्यो चुनावी चहलपहल

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा आएपछि डडेल्धुराको चुनावी माहोल एकाएक बढेको छ ।

चार दिन डडेल्धुरामा बसी देउवाले सातवटै पालिकामा चुनावी सभा सम्पन्न गरेर काठमाडौँ फर्किएपछि डडेल्धुरामा चुनावी माहौल बढेको हो ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू जिल्लाको भित्री मधेश क्षेत्रमा घरदैलो अभियानमा जुटेका छन् । परशुराम नगरपालिका ७ को सादनीमा आज भेला गर्दै चुनावी प्रचार प्रसार कार्यलाई तीव्र बनाइएको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो । प्रदेश सभा क उम्मेदवार खगराज भट्ट र प्रदेश ख का उम्मेदवार गोविन्द बोहराको नेतृत्वका अलग अलग टोली बनाएर चुनावी अभियानलाई तीव्रता दिइएको छ ।

उता नेकपा एमालेका प्रदेश क का उम्मेदवार पठानसिंह बोहरा नेतृत्वको टोली परशुराम नगरपालिका ०७ को मलास क्षेत्रमा घरदैलो अभियानमा जुटेको छ । उहाँले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घर दैलो अभियानलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग चुनाव लडिरहेका काँग्रेस बिपीका केन्द्रीय वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि भित्री मधेश क्षेत्रमा चुनावी अभियान केन्द्रित गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि सदरमुकाम क्षेत्रलाई बढी प्राथमिकतामा राखेको देखिन्छ ।

राप्रपाका उम्मेदवारहरू पनि घरदैलो अभियानमा जुटेका छन् ।

प्रधानमन्त्री देउवासँग बिपी कांग्रेसका मल्ल, राप्रपाबाट गोविन्द खडायत, एमालेबाट समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार विक्रम शाही, चर्चामा आएका गुल्मीका युवक सागर ढकाल र हरेक निर्वाचनमा देउवाविरुद्ध चुनाव लड्दै आएका स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button