तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख ८३ हजार थान मतपत्रसहित सामग्री सोलुमा

सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आवश्यक एक लाख ८० हजार थान भन्दा बढी मतपत्र सोलुखुम्बु आइपुगेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी निर्वाचन आयोगले पठाएको मतपत्र जिल्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार मतपत्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९० हजार थान र प्रदेश सभातर्फका ९१ हजार थान रहेका छन् । यस्तै कारागारका कैदीबन्दी र निर्वाचनमा नखटिएका कर्मचारीहरूका लागि दुई हजार थान समानुपातिक मतपत्र पनि आइपुगेको कार्यालयले जनाएको छ ।

संघ र प्रदेशतर्फको समानुपातिक मतपत्र भने यसअघि नै जिल्ला आइसकेको सहायक निर्वाचन अधिकृत कालाखेतीले बताउनुभयो । मङ्सिर ४ को चुनावका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी, छेकाबार लगायत सबै सामाग्रीहरू जिल्ला आइपुगेको जनाइएको छ ।

उहाँका अनुसार उक्त सामाग्रीहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरीको सुरक्षामा राखिएको छ । सोलुखुम्बुमा १२२ मतदानस्थल र १३५ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८१ हजार ५०२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button