मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको लागि तालिम सन्धिखर्कमा सुरु भएको छ ।
निर्वाचनमा खटिने कर्मचारीहरूले गर्नु पर्ने काम कर्तव्य र अधिकार र जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि कार्तिक २१ र २२ गते दुई दिन तालिम सञ्चालन भएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले बताउनुभयो ।
प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र र प्रदेश सभाको २ निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेका छन् । जिल्लामा ९७ मतदान स्थलमा २०२ मतदान केन्द्र रहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा निर्वाचन कार्यालयले नमूना मतदान गरिएको छ । बदर मतको सङ्ख्या कम गराउन सिकाइका रूपमा नमूना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जनाएको छ ।
शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो । स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारीलगायतले नमुना मतदान गरेका थिए ।
जिल्लामा स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा रणनीतिसमेत तयार गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्