तपाईँ सुन्दै हुनुहुन्छः

भोट माग्न आउने उम्मेदवारहरूसँग विकासको माग

सल्यान । सल्यान प्रदेशसभा (क) का मतदाताहरूले भोट माग्न आउने उम्मेदवारहरूसँग विकासको माग गरेका छन् । 

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवारहरू मतदाताहरूको घरदैलोमा भोट माग्न जाँदा उनीहरूले विकासको माग गरेका हुन । 

भोट माग्न आउने उम्मेदवारहरूसँग मतदाताहरूले, शिक्षा, स्वास्थ्य, रोजगार र बाटो लगायत विकास निर्माणका कुराहरूको माग गरेका छन् । 

विगतमा पटक पटका निर्वाचनमा भोट दिँदै आए पनि जनताले चाहे जस्तो विकास हुन नसकेकाले अब निर्वाचित प्रतिनिधिहरूले जनताको चाहाना अनुसार काम गर्नुपर्ने बताएका छन् । 

स्थानीय सरकारले बाटोको ट्रयाक खोलिदिए पनि बाह्रै महिना गाडी चल्ने सुविधा नहुँदा आफूहरू समस्यामा परेको सिद्धकुमाख गाउँपालिका १ कागखोलाकी सिता चलाउनेले बताउनुभयो । 

विगतका निर्वाचनमा बाचा गरेका प्रतिनिधिहरूले काम गर्न नसकेको बताउँदै उहाँले अहिले भोट माग्न आउने उम्मेदवारहरूसँग सडक, खानेपानी, बिद्युत् जस्ता कुराको माग गर्नुभयो । 

कागखोलाकै देबि चलाउनेले पनि अहिले भोट माग्न आउने उम्मेदवारहरू सँग सडक सुधार, खानेपानी जस्ता  विकासको माग गर्ने गर्नुभएको छ । 

भोट माग्न घरदैलोमा पुग्नुभएका सल्यान प्रदेशसभा (क) का उम्मेदवार भिमप्रकाश शर्माले विगतदेखि नै आफू विकास निर्माणका निम्ति लागि परेको बताउँदै निर्वाचित भएपछि जनताले चाहेअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेकाले यसलाई बदल्न अब आउने सरकारले मतदाताको माग पुरा गर्ने विश्वास दिलाउनुभयो । 

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाका उम्मेदवारहरू यति बेला आफ्नो पक्षमा मत माग्न मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।  प्रदेशसभा (क) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम प्रकाश शर्मा, नेकपा एमालेबाट कुल बहादुर गिरीको प्रतिस्पर्धा हँुदै छ । 

प्रदेशसभा (क) मा पुरुष ४० हजार १ सय ७४ र महिला ३८ हजार ४ सय ९४ गरेर कुल ७८ हजार ६ सय ६८ मतदाता रहेका छन् ्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button