तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण’

बीरगंज  । निर्वाचनमा सञ्चारकर्मीको भूमिका सबैभन्दा बढी महत्त्वपूर्ण हुने र आचारसंहिता विपरीत काम गर्ने दल तथा नेताहरूको बारेमा समाचार सार्वजनिक गर्नु पर्ने कुरामा वक्ताहरूले जोड दिनुभएको छ ।

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय पर्साको संयुक्त आयोजनामा आज वीरगंजमा आयोजित निर्वाचन सम्बन्धी सञ्चारकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले निर्वाचनको मिति नजिक आइरहेको अवस्थामा दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएको र यसमा आचारसंहिता विपरीतका गतिविधितर्फ सञ्चारकर्मीको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिएका हुन । 

कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले पर्सामा अहिलेसम्म आचारसंहिता विरुद्ध काम गरेको अभियोगमा कुनै उजुरी नपरेको खुलासा गर्दै नगर क्षेत्रभित्र खसी काटेर भोज खुवाएको जानकारी आए लगतै त्यसको खोज र अनुसन्धानका लागि सुरक्षाकर्मी प्रयोग गरिएको बताउनुभयो । 

उहाँले निर्वाचनमा भारतीय गाडीहरूको प्रयोग भएको भेटिए त्यस्ता गाडी नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरिएको जानकारी दिँदै निर्वाचन सम्पन्न भएपछि मतगणनाका समयमा सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

उहाँले पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुराम बहुमुखी क्याम्पसमा गरिने र ३ र ४ को पोखरीया स्कुलमा गरिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत रंजीता झाले निर्वाचन आचारसंहिताको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी दिनुहुँदै निर्वाचनलाई सफल बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो । 

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले पर्सेली सञ्चारकर्मीहरूले आगामी निर्वाचनलाई सूक्ष्म रुपमा अध्ययन गरिरहेको र आचारसंहिता विपरीतका गतिविधि भएमा खरो रुपमा उत्रिने दाबी गर्नुभयो । 

अभिमुखीकरण कार्यक्रममा पर्साका २५ जनाभन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button