तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा एक हजारभन्दा धेरै मतदाता घटे 

पाँचथर । पाँचथरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने १ लाख ३८ हजार ९ सय ३२ मतदाता रहेको जसमध्ये पुरुष ७३ हजार ३ सय ६६ र महिला ६५ हजार ५ सय ६६ रहेका जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए । 

आगामी निर्वाचनका लागि जिल्लामा कुल १ लाख ३८ हजार ९ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनभन्दा १ हजार २ सय ९२ मतदाता घटेका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको सङ्ख्या घटेको हो । 

मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँसरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको सङ्ख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाई छ । 

पाँचथरमा १ सय २ मतदान केन्द्र र १ सय ७७ मतदानस्थल कायम भएका छन् । 

आठ वटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एक मात्रै निर्वाचन क्षेत्र रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button