तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधार : निजी चिकित्सक

वजीराबाद । हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना हुनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको शुक्रबार उहाँका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गर्नुभएको छ ।

एक बन्दुकधारीले उहाँलाई विरोध प्रदर्शनका क्रममा आक्रमण गर्दा उहाँसहित करिब १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको र उनी आक्रमणकारीमध्ये एक भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक समाचारहरूमा बताएका छन् । गत अप्रिलमा खानलाई सत्ताच्युत गरे यता दक्षिण एसियाली राष्ट्र, पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ ।

पूर्व प्रधानमन्त्री खानका चिकित्सक फैजल सुल्तानले पूर्वी शहर लाहोरको एक अस्पतालबाट शुक्रबार एएफपीलाई बताएअनुसार खानको खुट्टामा गोली लागेको छ । उहाँले शुक्रबार नै अस्पताल बाहिर आफ्ना समर्थक र सञ्चारमाध्यमलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहनुभएको थियो ।

इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उहाँ यात्रारत सवारी साधनमा पेस्तोलद्वारा गोली हानेको थियो ।

आक्रमणका समय खानका पछाडि उभिएको बताउँदै पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग भन्नुभयो, “अगाडिको पङ्तीमा उभिएका सबैलाई गोलीको छर्रा लागेको छ ।”

बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ । आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन् । उनले मुस्लिम समुदायलाई दिनको पाँच पटक मस्जिदमा प्रार्थनामा जान अवरोध पु¥याएको भन्दै कोलाहलपूर्ण जुलुसप्रति आफू रुष्ट भएको बताए ।

सरकारका आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले यो आक्रमण ‘धार्मिक अतिवादको स्पष्ट उदाहरण’ भएको बताउनुभएको छ ।

“भिडियोमा अभियुक्तले लगाएको आरोप निकै कहालिलाग्दो छ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले भने यसलाई ‘षडयन्त्र’को संज्ञा दिँदै सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ ।

पञ्जाब सरकारका अधिकारीहरूले नाभिद अहमदको रूपमा नामाकरण गरेका आरोपी खानलाई गोली हानिएको प्रदर्शनस्थल नजिकैको एक गरीब गाउँका भएको बताएका छन् ।

छिमेकीहरूले एएफपीलाई बताएअनुसार अहमदका (काका) एक ‘साधारण मान्छे’ हुनुहुन्थ्यो र उहाँको कुनै स्पष्ट धार्मिक वा राजनीतिक झुकाव थिएन ।

पाकिस्तानमा दक्षिणपन्थी धार्मिक समूहहरूको जनसङ्ख्यामा ठूलो प्रभाब छ ।साथै पाकिस्तान लामो समयदेखि इस्लामी उग्रवादसँग जुधिरहेको छ ।

खानमाथि यसअघि पनि आफ्नो समर्थनको आधार फराकिलो बनाउन धार्मिक भावना भड्काएको आरोप लाग्दै आएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button