तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको रक्षाका लागि चुनावी गठबन्धन : प्रधानमन्त्री देउवा 

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागी चुनावी गठबन्धन भएको बताउनुभएको छ । 

बाम लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुरामा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार देउवाले मुलुकको विशिष्ट परिस्थितिबाट उत्पन्न राजनीतिक समीकरणका कारण पाँच दलीय गठबन्धन चुनावमा होमिएको स्पष्ट पार्नु भएको छ । 

पाँच बर्ष नपुग्दै बीचमा संसद् विघटन गरेर संविधानलाई ध्वस्त गर्ने कामका विरुद्ध पाँच दलीय गठबन्धन बनेको बताउँदै उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । 

संविधानको रक्षा गर्ने र संविधान विरोधीहरूका बिचको संघ र प्रदेशको निर्वाचन भइरहेको छ प्रधानमन्त्री देउवाले भने संविधानको रक्षक पाँच दलीय गठबन्धन हो उहाँले उठाएका उम्मेदवारलाई मतदान गर्न मतदातामा आह्वान गर्नुभयो । 

चुनावी सभालाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् प्रदेश सभा क का उम्मेदवार खगराज भट्ट र प्रदेश सभा ख का उम्मेदवार तथा काँग्रेस नेता गोविन्दराज बोहराले बोल्नु भएको थियो । बोल्ने उम्मेदवारद्वय भट्ट र बोहराले काँग्रेस र माओवादीको कुरा रहेन पार्टी भन्दा मुलुक रहने की नरहने भन्ने विषय बन्यो त्यसैले संविधानको रक्षाका लागि चुनावी गठबन्धन गर्नुपर्ने बाध्यतालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिह महर, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य निरा जैरु, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत पार्की र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्टले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवा डडेल्धुराका सात वटै स्थानीय तहमा भोलि देखि हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जिल्लामा चार दिन सम्म बस्ने कार्यक्रम तय भएको काँग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button