‘ब्रम्हनालमा सुत्नुअघि पर्खने स्थल हो वृद्धाश्रम’
पोखरा । सुन्दर नगरी पोखरा महानगरपालिका ३२, स्थित राधाकृष्ण मन्दिरको परिसरमा राधाकृष्ण वृद्धाश्रम छ । जुन आश्रम आफैँमा सुन्दर र माछापुच्छ्रे हिमालको छायाले अनुहार उज्यालो बनाएको छ तर मन भने उज्यालो छैन ।
देखिन्छ, वृद्धाश्रमका ब्रम्हनालमा सुत्नुअघि पर्खने स्थलमा बसेका वृद्धा बाबुआमाका जीवन कहानी । अनपढ भए पनि जीवनका भोगाइ र जीवन अनि मृत्युको चक्रबारे अनविज्ञ कोही छैनन् वृद्धाश्रमका बुबाआमाहरु । कथा र व्यथालाई अरूलाई सुनाउँदा पनि आनन्द आउँछ वृद्धावस्थामा ।
प्रसङ्ग हो राधाकृष्ण वृद्धाश्रममा रहेका ६१ जना वृद्धवृद्धा आमा बुबाको । आज यस वर्षको तिहार अर्थात् भाइटिका, हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो ।
तिहार अर्थात् यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेल रोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
वृद्धाश्रमका बाबुआमाको केश सेतो छ, कसैको तिलचामले । शरीरका छाला चाउरिएका छन्, काम गर्ने जाँगर र तागत घट्दै गएको छ । उमेरले परनिर्भर बनाउँदै लगेको छ । सन्तानले बनाएको नयाँ संसारमा रम्न तत्पर यी बाबुआमालाई नाति नातिनीलाई काखमा खेलाउन उत्सुकता जाग्छ । तर, सामूहिक पीडाको चौतारी बनेको छ आश्रम । जुन सामूहिक रुपमा जीवनका भोगाई साटासाट गर्ने थलो हो । चाडबाडको बेला मन रुन्छ कोसँग रोइदिने, कसलाई सुनाउने आफ्ना व्यथाहरू । भावना र आत्मा रोएको छ वृद्धा बाबुआमाको ।
सबैको घरमा खुसीयाली छ पालामा बत्ती सयपत्री फुल, मखमली फुलहरूले घर सजिएका छन् । प्रत्येक व्यक्तिको घरभन्दा बाहिरी संसारमा व्यस्तता बढिरहेको छ । बाध्यता पनि छ, घरमा रहेका परनिर्भरतालाई दिने समयको अभाव छ ।
बिहान ७ बजेको समयमा १ सय ४ वर्षीया हजुरआमा मानकुमारी श्रेष्ठ भेटिनुभयो । हात उठाउँदै आर्शिवाद दिएजस्तो लाग्छ, कान नसुन्नु हुने रहेछ । हातको इशारा र अलि ठुलो स्वरमा बातचित गरियो । कुरा हुँदै जाँदा सबैका आँसु चुहिए, आँखा नरसाउने कोही भएनन् । एक अर्कालाई टीका लगाएर चाड मनाउन सल्लाह दिँदा कोहीबाट जवाफ आएन, आफू आफूमा हेराहेर मात्र भयो ।
नयाँ परिवार छ तर मुटुका टुक्राभन्दा प्यारा सन्तान दूर दराजमा छन् चाडबाडको बेला । काखमा खेल्ने नातिनातिनाका अभाव छन् । दुख सुनिदिने सङ्गी छन्, आँसु पुछिदिने हात छैनन् । बाँच्नलाई भोजन पाइन्छ तैपनि अतृप्त छन् । विश्राम लिने ओछ्यान छ, निद्रा छैन । मात्र, मनभित्र पसाङ्गिएका भावनाहरूको थुप्रो छ । ७० वर्षदेखि १ सय ४ वर्षीय आमाबुवाका आँसुद्वारा अभिव्यक्त भएका छन् मनका वेदना ।
विक्रम संम्वत २०६८ सालमा स्थापना भएको राधाकृष्ण वृद्धाश्रम आश्रय दिने स्थलको रुपमा विकसित भएको छ । धेरै धेरै धन्यवाद । साधुवाद अध्यक्ष महोदय, प्रेम लिगल रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट सम्मानित समेत हुनुभएको छ ।
वृद्ध वृद्धाको जीवनशैली सुधार गर्न पुनर्स्थापना उपयुक्त हुनसक्छ । त्यसका लागि राज्यका संयन्त्र, नागरिक समाज, संघ संस्था, समाज र परिवारले सोच्नु बुद्धिमानी हुन्छ । सबैको सामूहिक सोचबाट विकल्प निस्किए वृद्धाश्रमलाई आश्रय स्थल बनाउनु पर्ने थिएन ।










प्रतिक्रिया राख्नुहोस्