पाँच दलीय गठबन्धन राष्ट्रलाई सङ्कटबाट जोगाउने महाअभियान : कांग्रेस सहमहामन्त्री परियार
भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।
आज भक्तपुरमा कांग्रेस नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले विशिष्ट परिस्थितिमा गठबन्धन बनेको बताउनुभयो ।
उहाँले पाँच दलीय गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई सङ्कटबाट जोगाउने तथा संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान भएको दाबी गर्नुभयो ।
सहमहामन्त्री परियारले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका पक्षमा एकताबद्ध भएर लाग्न गठबन्धनका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।
सहमहामन्त्री परियारले लोकतन्त्र र गणतन्त्रमा अझै खतरा रहेकोले आउने चुनावमा एमाले नेतृत्वको प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यत्रय मदनकृष्ण श्रेष्ठ, रमा पौडेल, गङ्गालक्ष्मी अवाल, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेल, उद्योग राज्यमन्त्री रजनी जोन्छे , कानुन आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी लगायतले एमालेले दक्षिणपन्थी र राजावादीसँग गठबन्धन गरेर प्राप्त उपलब्धिलाई कमजोर पार्ने खेलमा लागेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्