‘गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ’
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक–वाम गठबन्धन एउटा विशिष्ट उद्देश्य पूरा गर्नका लागि निर्माण भएको बताउनुभयो । त्यो उद्देश्य पूरा नहुञ्जेलसम्म गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।
नेपाली जनताको भावनाअनुरूप जारी भएको संविधान, लोकतन्त्र र संविधानले व्यवस्था तथा परिकल्पना गरेको व्यवस्थालाई संरक्षण गर्न गठबन्धन बनेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसबाट प्रतिनिधिसभा, सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले विगतका निर्वाचनमा आफूले जनतासामु गरेको अधिकांश प्रतिबद्धता पूरा गरेको बताउनुभयो । यस क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको जनगुनासो आएकाले टावर निर्माणका लागि टेण्डर आह्वान भइसकेकाले त्यो समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
रासस







प्रतिक्रिया राख्नुहोस्