तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा सेल पकाउँदै, टपरी बुन्दै विद्यार्थीहरू  

तनहुँ । तनहुँको एक विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिन विद्यार्थीहरूलाई सेल रोटी पकाउन र सालको पातबाट टपरी बुन्न सिकाउन थालेको छ ।
जिल्लाको ब्यास नगरपालिका १० मा रहेको सतिस अङ्ग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीलाई प्रयोगात्मक सिकाई स्वरूप रोटी पकाउन र टपरी बुन्न सिकाएको हो । प्रधानाध्यापक दिर्घबहादुर दरैले नेपाली संस्कृतिमा आधारित सिप र महत्त्व विद्यालयबाट नै सिकाउन प्रयास गरिएको जानकारी दिनुभयो ।
उहाँले विशेष गरी छात्राहरूलाई तिहार पर्वमा रोटी पकाउने र सालको पातको टपरीमा राखेर खाने नेपाली संस्कृतिबारे जानकारी दिने प्रयोगात्मक विधिलाई जोड दिएको बताउनुभयो । गत दसैँमा पनि दशैको महत्त्व र सांस्कृतिक क्रियाकलाप व्यवहारिक रुपमा सिकाइएको उहाँले बताउनुभयो ।
विद्यालयमा शिक्षक शिक्षिकासँगै यस्ता क्रियाकलापहरू सिक्ने सके विद्यालयको सिकाई दिगो बन्ने दरैको बुझाई छ । ‘थेउरी भन्दा प्राक्टिकल अर्थात् व्यवहारिक शिक्षा दिन सके प्रभावकारी हुन्छ ।’ उहाँले भन्नुभयो ।
पछिल्लो समय विद्यार्थीलाई व्यावहारिक शिक्षा सिकाउन विद्यालयहरूले विभिन्न किसिमको पहल गर्दै आएको पाइन्छ । दमौलीमा रहेको निर्मल माध्यमिक विद्यालय र शुक्लागण्डकी नगरपालिकामा रहेको ज्ञान बगैँचा अङ्ग्रेजी विद्यालयले यस्ता क्रियाकलापलाई विगतदेखि नै प्राथमिकता दिँदै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button