तपाईँ सुन्दै हुनुहुन्छः

चुनावमा गरेका ८० प्रतिशत प्रतिबद्धता पुरा गरेँ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिबद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ । काठमाडौँको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पुरा गरेको बताउनुहुँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरू, सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरू निर्माण, सडक पुल,  झोलुङ्गे पुल तथा आकाशे पुलहरू निर्माण तर्फ अधिकांश चुनावी प्रतिबद्धता पुरा गरेको उहाँले बताउनुभयो ।
आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट बाम(लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले बसन्तपुर-स्वयम्भु-ह्वाइट गुम्बालाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रा पर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयवासीले पाउने व्यवस्था गरिने उहाँको भनाइ छ ।
सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उहाँले बताउनुभयो । स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको समेत उहाँले बताउनुभएको थियो ।पर्यटन नै नेपालको आर्थिक विकासको दिगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न  आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि ल्याएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button