तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा किशोरीमाथि दुर्व्यवहार : न गुनासो सुनिन्छ न कारबाही

काठमाडौँ । विद्यालयलाई शिक्षाको मन्दिर हो । बालबालिका ज्ञान आर्जनका लागि  विद्यालय रुपी मन्दिर जाने गर्छन् ।  असल शिक्षा लिन भनेर विद्यालय जाने त्यस्ता कतिपय बालिका तथा किशोरीहरू भने साथीभाइ र शिक्षकहरूबाटै दुर्व्यवहारमा पर्ने गरेका छन् । सामुदायिक विद्यालयहरूमा यथेष्ट मात्रामा महिला शिक्षकहरू नभएका कारण पनि किशोरीहरूले आफूहरूमाथि हुने दुर्व्यवहारका कुरा खुलेर राख्न सकिरहेका छैनन् । 

राष्ट्रिय किशोरी सञ्जालकी अध्यक्ष ललिता तामाङ विद्यालय व्यवस्थापन समितिमा किशोरीहरूको प्रतिनिधित्व हुनसके बैठकहरूमा विद्यालयमा आफूहरूमाथि हुने दुर्व्यवहारका कुरा सजिलै बताउन सकिने थियो भन्नुहुन्छ । 

उहाँले कम्प्युटर कक्षामा प्राय शिक्षकले सिकाउने बहानामा नजिक आएर शरीरमा छुने, अश्लील भिडियोहरू देखाउने गर्ने गरेको बताउनुभयो । त्यस्तै महिनावारी हुँदा सेनेटरी प्याड माग्न जाँदा पनि साथीहरूले जिस्क्याउने गरेको उहाँको अनुभव छ  । 

विभिन्न अप्ठ्यारालाई छिचोलेर बल्लतल्ल विद्यालय पुगेका बालिकामाथि संरक्षकको भूमिकामा रहनुपर्ने शिक्षक र हाँस्दै खेल्दै पढेर रमाउनुपर्ने केटा साथीहरूबाट हुने व्यवहारका कारण कतिपय बालिकाहरूले विद्यालय नै छाड्ने गरेका छन् भने कतिपयले पढाइलाई सहज रुपमा अगाडि बढाउन सकिरहेका छैनन् । 

विद्यालयमा छात्राहरूका लागि छुट्टै शौचालय नहुने र सेनेटरी प्याडको सहज व्यवस्था नहुने जस्ता समस्या त छदै छ, त्यसमा पनि साथीहरूले जिस्क्याउने र पढाउने गुरुहरूले नै गलत मनसायले छुन खोज्ने, बोलाउने र व्यवहार गर्ने लगायतका कारण छात्राहरूमा मानसिक असर पर्ने गरेको पाइएको छ । विद्यालयमा हिंसा एवं दुर्व्यवहार भयो भने गुनासो सुन्ने व्यवस्था चाहिँ सामुदायिक विद्यालयहरूमा गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं लैङ्गिक फोकल व्यक्तिका रुपमा कार्यरत रमा अर्याल पन्थीले बताउनुभयो । 

सामुदायिक  विद्यालयमा प्रजनन स्वास्थ्यसम्बन्धी पढाइ सुरु गर्न थालिएको छ तर त्यो प्रभावकारी हुन नसकेको र स्वास्थ्य तथा यौन शिक्षालाई हाँसो र लाजको विषय बनाइएको छ । बाल अधिकारकर्मी गौरी प्रधान पनि यसबारे राम्रो शिक्षा दिनसके विद्यालयभित्र छात्रामाथि हुने दुर्व्यवहार स्वतः कम भएर जाने बताउनुभयो ।

विद्यालय बालबालिकाको दोस्रो घर हो ।  दिन भरजस्तो पढ्ने, खेल्ने र रमाउने विद्यालय रुपी घरमा अभिभावकत्व लिने गुरुहरूको व्यवहारले छात्राहरूको पडाइका लागि वातावरण तयार गर्दछ भने साथीभाइ बीचको समान सोचाई तथा व्यवहार अनि अभिभावकको सचेतनाबाट  पनि छात्राहरूका लागि विद्यालयमा पढ्ने वातावरण बन्न सक्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button