तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक रक्तश्रावका कारण २० वर्षीय सुत्केरीको मृत्यु

बाजुरा । बुढिगंगा नगरपालिका ६ मा एकजना सुत्केरीको अत्यधिक रक्तश्रावका कारणले मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षकी नितु जैशी रहेकी बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले बताउनु भएको छ ।

नितुको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको नगरपालिकाले जनाएको छ । असोज ३१ गते सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले टाँटे स्वास्थ्य चौकीमा लगेका थिए । दिउसो साढे चार बजे नितुले छोरीको जन्म दिएकी थिइन् । स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार साल बेरिएको र बच्चा निसास्सिएको अवस्थामा बच्चा जन्मेको बताउनुभयो । तर बच्चा जन्माउने बेला सुत्केरी महिलामा कुनै जटिल समस्या नभएको थापाको भनाई छ । नितु सामान्य अवस्थामा रहेको भन्दै स्वास्थ्य चौकीले साढे ६ बजे घर पठाएको थियो । आफूहरूले त नाइँ घरमा नलिनु भनेका थियौ, आफन्तले नमानेर घर लगेको थापाले बताउनुभयो ।

घर लगेको केही समयमा नितु अत्यधिक रक्तस्राव भएपछि सोमबार राति साढे १० बजे टाँटे स्वास्थ्य चौकीमा ल्याएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य चौकी पुगाएको २० मिनेटमा नितुको मृत्यु भएको इन्चार्ज छत्र थापाले बताउनुभयो । स्वास्थ्य चौकी पुर्याउदा को अवस्था निकै जटिल रहेको थियो, उनलाई बचाउन नसकेको थापाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको ८ घण्टा देखी २४ घण्टा भित्र सुत्केरी महिलालाई घर पठाउनु पर्ने प्रावधान रहेको छ । तर स्वास्थ्य चौकीले सुत्केरी भएको २ घण्टामा नितुलाइ घर पठाएको बुझिन्छ, यो स्वास्थ्यकर्मीको लापरवाही रहेको एक स्वास्थ्यकर्मीले बताए । आफन्तले घर लिन खोजेपनि ८ घण्टा पछि मात्र घर पठाउनु पर्ने हो तर, चाडै घर नपठाउनु पर्ने हो स्वास्थ्य संयोजक शाहले बताउनुभयो । यदि सुत्केरी महिला स्वास्थ्य संस्था भएको भए महिला बाच्न सक्ने अवस्था रहेको उहाँको भनाई छ ।

नितुलाइ तालिम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा दिएको भएपनि दोस्रो पटक नितुलाइ स्वास्थ्य चौकी लग्दा तालिम प्राप्त स्वास्थ्यकर्मी पनि नभएको पाइएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मी तारा शाही र प्रमीला कुमारी कार्की भने डिउटीमा नरहेको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी भने सुत्केरी मृत्यु भएको बारेमा जानकारी नभएको बुझेर खबर गर्ने बताउनु हुन्छ ।

बाजुरामा ३ बर्ष यता नितु लगायत ९ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्यादाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए । अर्को सुत्केरी भएको बेला आराम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाको भनाई छ ।

हुन त सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्ने क्रम रोकिएको छैन । बाजुराका आमाहरूको प्रजनन स्वास्थ्य निकै कमजोर रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँचबाट विमुख जस्ता समस्याले आमाहरूको ज्यान निकै जोखिम बन्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button