‘डब्लुटिओ चेयर्स प्रोग्राम नेपाल’ शुरु
काठमाडौँ । विश्व व्यापार सङ्गठनको ‘डब्लुटिओ चेयर्स प्रोग्राम नेपाल’ सोमवारदेखि नेपालमा शुभारम्भ भएको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा कार्यान्वयनका लागि छनौटमा परेको काठमाडौँ विश्व विद्यालय व्यवस्थापन सङ्काय (कुसोम) ले सो चार वर्षे कार्यक्रमको कार्यान्वयन शुरु गरेको हो ।
नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले पानसमा दीप प्रज्वलन गरी ललितपुरमा कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
विश्व व्यापार सङ्गठनले तेस्रो चरणको डब्लुटिओ चेयर्स प्रोग्राम कार्यान्वयनका लागि विश्वका १२० विश्व विद्यालयहरूबाट आवेदन माग गरेकोमा प्राप्त भएको आवेदनबाट १७ वटा विश्वविद्यालयहरू छनौट भएका थिए । त्यस मध्येमा नेपालको तर्फबाट काठमाडौँ विश्व विद्यालय व्यवस्थापन सङ्काय (कुसोम) छनौट भएको हो ।
कार्यक्रम अन्तर्गत शैक्षिक प्रतिष्ठानहरूमा विश्व व्यापार सम्बन्धित विषयमा अनुसन्धान र शिक्षणमा सुधार तथा नीति निर्माताहरूको पहुँच तथा दक्षता वृद्धिका लागि निर्धारण गरिएका विभिन्न ३ खम्बे कार्यक्रमहरूको कार्यान्वयनमा सघाउने गरी नेपालमा आगामी चार वर्षसम्म काठमाडौँ विश्वविद्यालय व्यवस्थापन सङ्कायले डब्लुटिओ चेयर्स कार्यक्रम कार्यान्वयन गर्नेछ ।
कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले कार्यक्रमले नेपाललाई विश्व व्यापार सङ्गठनबाट प्राप्त अवसरको अधिकतम प्रयोग गरी नेपालको अन्तर्राष्ट्रिय व्यापार क्षमता विकास गर्न सहयोग गर्ने बताउनुभयो ।
उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा काठमाडौँ विश्व विद्यालयका उपकुलपति प्रा.डा भोला थापाले विश्वविद्यालयले विश्वमा नयाँ प्रचलनमा आएका विषयहरूलाई आन्तरिक मागका आधारमा उच्च शिक्षाको अवसर प्रदान गरेको र डब्लुटिओ चेयर्स प्रोग्रामको माध्यमबाट विश्वविद्यालयले विश्व व्यापारको क्षेत्रमा अध्ययन अनुसन्धान गरेका विज्ञ जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालले विश्व व्यापार सङ्गठनको माध्यमबाट प्राप्त अवसरको उपयोग गर्न नसक्दा नेपालको निर्यात नगण्य र आयात उच्च हुँदा व्यापार घाटाको अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले व्यापारको लागत उच्च, कमजोर पूर्वाधार,कमजोर श्रम सम्बन्ध तथा अतिकम विकसित मुलुकको रुपमा पारवहन अधिकार पाउन नसकेको बताउनुभयो ।
विश्व व्यापार सङ्गठनका उपमहाप्रबन्धक डा सेन्चेन जोङले विश्व व्यापारमा अति कम विकसित मुलुकहरूको क्षमता विकासका लागि डब्लुटिओ चेयर्स प्रोग्रामको माध्यमबाट सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले पठाउनुभएको सन्देश वाचन गर्नुका साथै कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्ने मुलुकका प्रतिनिधिहरूले प्रत्यक्ष तथा भरचुवल रुपमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्