बाल सुधार गृहबाट ५ जना किशोरहरू भागे

रुपन्देही । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोरहरू भागेका छन् ।
आइतबार राती प्रहरी सुरक्षालाई छक्काउँदै भान्सा गृहमा पस्ने तर्फको झ्यालको डण्डी काटेर उनीहरू भागेका थिए। ५ बर्षअघि निर्माण भएको भैरहवास्थित सो बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ।
विभिन्न घटनामा संलग्न आरोप प्रमाणित भएर भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरू रातको करिब ३ बजे भागेको बाल सुधार गृहले जनाएको छ। नवलपरासीका ३ जना रुपन्देहीका र कपिलवस्तुका एक एक जना गरी ५ जना बालकहरू भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन्।
बाल सुधारगृह श्रोतका अनुसार भागेकाहरू मध्ये ३ जना जबरजस्ती करणी मुद्दा, एकजना चोरी मुद्दा र एक जना लागूऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए। भागेकामध्ये जबरजस्ती करणी मुद्दामा नवलपरासीका दुई जना र रुपन्देहीका एकजना करिब डेढ वर्षयता सुधार गृहमा बस्दै आएका थिए भने २ जना ६ महिनादेखि चोरी र लागूऔषध मुद्दामा प्रमाणित भई सुधार गृहमा राखिएका थिए।
यसअघि बाल सुधार गृहमा रहेका बालकहरू सुधार गृहको क्षमताभन्दा धेरै भएपछि नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो।
भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्