धानबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित
सुनसरी । मुलुकमै धान उत्पादनमा अग्रणी जिल्लाको रुपमा रहेको सुनसरीमा धानबालीमा फौजी किरा लागेपछि किसानहरू चिन्तित बनेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका– ५, ६, ७, ८, ९ र १० सहितका वडाका धानबालीमा बाला लागेसँगै फौजी किराको प्रकोप बढेको हो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका–१७ पकली, दुहबी नगरपालिका, बर्जू र गढी गाउँपालिका धरान, पानमारा, चकरघट्टी, प्रकाशपुर, मधुवन, भरौल लगायत जिल्लाभरि फौजी किराको प्रकोप बढेकाले किसानहरू चिन्तित बनेका हुन् ।
जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा करिब २० प्रतिशत क्षेत्रमा फौजी किराको प्रकोप बढेको किसानको गुनासो छ । प्रकोप देखिएपछि किसानले समय अगावै धान काट्न थालेका छन् ।
स्थानीय कृषक नन्दन साहले आफ्नो खेतको तयार हुन थालेको धानको बाला फौजी किराले काटेर नष्ट गरेको गुनासो गर्नुभयो । १० कट्ठामा लगाइएको स्वर्णा, राधाबाह्र धानमा फौजी किराले क्षति पुर्याएको उहाँको गुनासो छ ।
मौसम परिवर्तनका कारण रैथाने फौजी किराको प्रकोप बढेको र अहिले देखिएको फौजी किरा व्यापक नभएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी बताउनुभयो ।
दर्जनौँ किसानहरूको बाला लाग्न लागेको धान घामले डढे जसरी बोट नै रातो भएको छ । बिरुवा सुक्न थालेपछि धान भित्र्याउने आशामा रहेका किसानहरू निराश बन्न थालेका छन् ।
समय अगावै धान काट्नु परेपछि उत्पादन घट्ने चिन्ता पनि किसानहरूलाई छ । किरा दिनमा लुकेर बस्ने र राती भएपछि बालामा उक्लिएर काट्ने गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्