शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । नेपाली वाङ्मयका अविच्छिन्न साधक सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवार स्रोतले जानकारी दियो ।
२४ दिन अघि अस्पतालमा भर्ना हुनुभएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उहाँसकाे स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई असोज ७ गते किष्ट अस्पताल लगिएको थियो । अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको जोशीको रगत परीक्षणको क्रममा डेंगु संक्रमणसमेत देखिएको थियो ।
अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
१९७७ वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिनुभएका जोशी देशकै जिउँदो इतिहास हुनुहुन्थ्यो ।
सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रुपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरुमा पुग्नुभएको थियो । भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा योगदान दिनुभएका जोशी वि.सं.२०१३, २०१७ र २०१८ मा गरेर तीन पटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति हुनुहुन्थ्यो ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
उहाँ नेपालको पुरातत्व विभागका पहिलो निर्देशकसमेत हुनुहुन्छ । २०७७ माघ २० गते राष्ट्रपति बिद्यादेवी भण्डारीले हुलाक टिकटको आवरणमा टाँचा प्रदान गर्नुभएको छ ।जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उहाँ पहिलो नेपाली नागरिक हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्