तपाईँ सुन्दै हुनुहुन्छः

‘मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर’

गण्डकी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुने गरी निर्वाचन आयोगले काम गरिरहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीन दिने निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उहाँले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्दै उहाँले उम्मेदवारले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत गर्ने सम्पूर्ण खर्चको आयोगले नियमन गर्ने संयन्त्र बनाइरहेको जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले नेपाल टेलिभिजनबाट आगामी निर्वाचनलाई सफल पार्न केन्द्रदेखि जिल्लासम्मका सबै समाचारदाता जिम्मेवारी पूरा गर्न क्रियाशील बन्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपाल टेलिभिजनको लोकप्रियता कायम राख्न र आगामी निर्वाचनमा संवाददाताको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्त, वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष शिव गाउँले, नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष डा सुरेश आचार्य, पत्रकार सङ्गीता लामा, नेपाल टेलिभिजनका कार्यक्रम प्रमुख डा टङ्क उप्रेती र वरिष्ठ क्यामरा पर्सन पुरुषोत्तम घिमिरेले प्रशिक्षण दिनुभएको थियो । तालिममा गण्डकी र बागमती प्रदेशका गरी ४५ जना जिल्ला संवाददाताको सहभागिता छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button