नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा सेनालाई दुई स्वर्ण पदक
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष साइक्लिङ ‘डाउनहिल विधा’को दुवै स्वर्ण नेपाली सेनाले जितेको छ ।
पोखराको रानीवनमा आज आयोजित प्रतिस्पर्धामा महिलातर्फ सेनाका निष्मा श्रेष्ठले दुई मिनेट २३ दशमलव ५८ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जित्नुभयो । साइक्लिङको डाउनहिलमा सेनाकै उषा खनाल दुई मिनेट ३७ दशमलव ४५ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत पदक प्राप्त गर्दा आयोजक गण्डकी प्रदेशका जमुना थापाले दुई मिनेट ४० दशमलव शून्य नौ सेकेण्डमा पूरा गर्दै कास्य पदक जित्नुभयो ।
यसैगरी पुरुषतर्फको डाउनहिल प्रतिस्पर्धामा सेनाका राजेश मगरले एक मिनेट ४९ दशमलव १० सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो । बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बल एपिएफका प्रतीक थापामगरले एक मिनेट ५५ दशमलव ६९ सेकेण्डमा निर्धारित दूरी पार गरी कास्य पदक जित्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल भइरहेका छन् । यही असोज २३ गतेदेखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि भएका हुन् । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।
पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास,उसु, आर्चरी मैदानमा आर्चरी, सफ्ट टेनिस रङ्गशालाको टेनिस कोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल भएको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो ।
यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाज घरमा टेबल टेनिस, पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा खेलाइएको हो ।







प्रतिक्रिया राख्नुहोस्