तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद: रग्बी खेल भण्डारढिक खेल मैदानमा सुरु

पोखरा । “एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेल पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक खेलमैदानमा शनिवारदेखि सुरु भएको छ ।

नेपाल रग्बी संघका केन्द्रिय अध्यक्ष दिपक देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल सरकारका खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले क्षमतावान्, सक्षम र प्रतिभावान् खेलाडीहरू तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल रग्बी संघका सन्तोष भट्टराई, पूर्व गृहमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिका २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, नेपाल रग्बी संघ महासचिव चेतनराज गिरी, नेपाल रग्बी संघ कास्की सचिव सुवास खड्का लगायतले शुभकामना दिँदै प्रतियोगिता खेलाडीहरूको लागि महान् उत्सव भएको तथा यसले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा प्रतियोगितामा सहभागिता जनाउने टिमको मार्च पास प्रस्तुत गरिएको थियो भने स्थानीय टोल विकास संस्था, आमा समूहहरूले झाँकी, र्‍याली प्रस्तुत गरेका थिए ।

४ दशकपछि गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रवारबाट औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभारम्भ उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको थियो ।

कुल ३६ वटा खेल र २ प्रदर्शनी सहित ३८ खेल समावेश गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडीहरू सहभागी छन् । करिब १ हजार ३ सय पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

भण्डारढिक खेलमैदानमा शनिवारदेखि सुरु भएको रग्बी खेलमा ३२४ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button