नवौं राष्ट्रिय खेलकुद पोखरामा सुरु
पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि कास्कीको पोखरामा सुरु भएको छ ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको आज एक समारोहबिच पोखरा रङ्गशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गर्नुभयो ।

त्यस अवसरमा गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नुभयो भने युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले झन्डोत्तोलन गर्नुभयो ।

उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।
उद्घाटन समारोहमा नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने ११ टिमको मार्चपास, झाँकी, नृत्य, गायन लगायत आतिसबाजी समेत गरिएको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्