तपाईँ सुन्दै हुनुहुन्छः

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीका टिप्पणी, आरोप प्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वेषपूर्ण) अभिव्यक्ति प्राप्त हुन सक्दछन् । मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ ।”

“समाजलाई मार्ग प्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकार जगत्बाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, राजनीतिक दल एवं उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालसमेतबाट पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिता विपरीत हुने हुँदा सञ्चारमाध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्थाबाट यस प्रकारका गतिविधि नगर्न र नगराउन अपिल गरिन्छ”, प्रेस विज्ञप्तिमा भनिएको छ । 

यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्न र नगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्री प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । 

यस्तै कुनै सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा वा सञ्चारमाध्यम तथा पत्रकारले पत्रकार आचारसंहिता विपरीत कार्य गरिरहेको पाइएमा वा कुनै जनगुनासो भएमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था रहेको र आचारसंहिता पालना भएर नभएको विषयमा सूक्ष्म रूपमा अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button