बढ्दो ब्याजदर विरुद्ध व्यवसायी आन्दोलित
सुर्खेत । बन्द सदाका लागि बन्द गरिनुपर्ने माग राख्दै आइरहेका सुर्खेतका उद्योगी, व्यापारीले आज वीरेन्द्रनगर बजार बन्द गरेका छन् ।
बैङ्कहरूले लिएको चर्को ब्याजदरका विरुद्ध विभिन्न व्यावसायिक संघ–संस्थाहरूले वीरेन्द्रनगर बजार क्षेत्रमा विरोध प्रदर्शन गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैङ्क सुर्खेत कार्यालय मार्फत प्रधानमन्त्री र राष्ट्र बैङ्कलाई ज्ञापनपत्र बुझाएका हुन् । बजार बन्द भएपछि टाढाबाट आएका उपभोक्तालाई सास्ती भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्ग निर्देशन २०७९ र त्यही मार्ग निर्देशनको आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैङ्कहरूको सिन्डिकेटले गरेको कसिकसाउप्रति आन्दोलित हुनुपरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।
उहाँले निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौँ शुल्क लिएर थप आर्थिक भार थप्ने, ब्याज किस्ताका लागि तारन्तार मानसिक दबाब दिने कार्य बैङ्कहरूले गरिरहेको जनाउनुभयो । उहाँका अनुसार बैङ्कको ब्याजदर नघटाइएसम्म संयुक्त व्यवसायी सङ्घर्ष समिति मार्फत आन्दोलनका कार्यक्रम जारी राखिनेछन् ।

कर्जाको ब्याजदरमा एकल अङ्क कायम गरिनुपर्ने, बैङ्कहरूले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्क लगायतका कुनै पनि शुल्क महसुल न्यून मात्र लिनुपर्ने, पुरानो चालू पूँजी कर्जा निर्देशिकालाई यथावत् राखी नयाँ निर्देशिका क्रमिक रूपले लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुनर्संरचना गरिनुपर्ने, बैंकले अघि बढाएका सम्पूर्ण लिलामी प्रक्रिया २०७९ चैत्र मसान्तसम्मको लागि रोक्नुपर्ने र राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने लगायतका मुख्य माग रहेको नेपाल च्याम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्