तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा तत्काल किन प्रदर्शनमा आएन ‘इश्क पस्मिना’?

काठमाडौँ । यतिबेला नेपाली चलचित्र ‘प्रेम गीत-३’, बलिउड सुपरस्टारहरूको भूमिका रहेको  ‘ब्रम्हास्त्र’ र हलिउड ब्लकबस्टर  ‘एभटार’ नेपाल र भारतलगायत अन्य मुलुकमा प्रदर्शनमा आइरहँदा अर्को बलिउड चलचित्र  ‘इश्क पस्मिना’ भने तत्काल नेपालमा प्रदर्शनमा आएको छैन ।

प्रेम गीत-३ र इश्क पस्मिना चलचित्रको भारतको मुम्बईमा एकै दिन सेप्टेम्बर २२ मा प्रिमियर सो भएको थियो । प्रिमियर सो पछि सेप्टेम्बर २३ बाट प्रेम गीत नेपाल र भारतका चलचित्र हलमा प्रदर्शनमा आइसकेको छ । 

सेप्टेम्बर २३ बाटै भारतीय सिनेमा हलहरूमा भने इश्क पस्मिना लागिसकेको छ । तर, इश्क पस्मिना चलचित्रलाई निर्माता सुरज सूर्या मिश्रले नेपालमा तत्काल प्रदर्शनमा ल्याउनुभएको छैन । नेपालमा प्रेम गीत–३ प्रति नेपाली दर्शकको भावनात्मक साइनो भएकाले इश्क पस्मिनालाई सँगै नेपाली हलमा लगाएर प्रतिस्पर्धीको रुपमा आफूले उतार्न नचाएको निर्माता मिश्रले बताउनुभएको छ । 

नेपाली दर्शकको भावनालाई सम्मान गर्दै केही दिनपछि मात्र प्रेम कहानीमा आधारित इश्क पस्मिनालाई नेपाल भित्र्याउने उहाँको भनाई छ । नेपालमा इश्क पस्मिना चलचित्रलाई तत्काल प्रदर्शनमा नल्याउनुको एक मात्र कारण यही भएको उहाँको प्रष्ट्याई छ । 

बलिवुड फिल्म कम्पनी कृष्ण शान्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत गत महिना काठमाडौँमा सार्वजनिक गरिएको थियो । निर्माता सुरज सुर्या मिश्र, नायक भाविन भानुशाली र नायिका मालती चाहर सहितको टोलीले काठमाडौँस्थित होटल एम्वासडरमा मिडियाको लागि आयोजित कार्यक्रममा उपस्थित भएर टिजर र गीत सार्वजनिक गर्नुभएको थियो । निर्माता मिश्रले नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायीक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको बताउनुभएको थियो ।

नायक भाविन र नायिका मालतीको यो पहिलो फिल्म हो । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुनुहुन्छ भने मालती भारतीय क्रिकेटर दिपक चाहरकी बहिनी हुनुहन्छ । चलचित्रको निर्देशन भने अरविन्द पाण्डेले गर्नुभएको छ ।

‘इश्क पस्मिना’ आजभन्दा दुई दशक अघिको घटनामा आधारित प्रेम कथामा आधारित चलचित्र हो । भारतको सिमलाको प्राकृतिक सौन्दर्यका बीच छायाङ्कन भएको यस चलचित्रले करन र ओमिसाको प्रेम कहानीलाई मुख्य आधार बनाएको छ । निर्माता मिश्रका अनुसार चलचित्र इश्क पस्मिनाले ९० को दशकको झल्को दिँदै नवीन प्रेम कथा बनेको छ । 

चलचित्रमा नायक भाविन भानुशालीले करन र नायिका मालती चाहरले ओमिसको भूमिका निभाउनुभएको छ । दृष्टिविहीन करन र उनकी केयर टेकर ओमिसा बीचको प्रेमलाई चलचित्र ‘इश्क पस्मिना’ ले पस्केको छ । कार्यालयमा ह्यारास्मेट भएपछि ओमिसा रेडियोमा बोल्ने जागिर छोडेर  सिम्लाको एक घरमा रहेको दृष्टिविहीन करनको हेरचाह गर्न खोलाइएको विज्ञापन देखेपछि नयाँ कामका लागि निवेदन दिएको यस चलचित्रमा देख्न सकिन्छ ।  

चलचित्रको सङ्गीत र सिनेमेटोग्राफीलाई सबैभन्दा सबल पक्षको रुपमा हेरिएको छ । चलचित्रका दर्शकले निकै रुचाएको निर्माता मिश्रले बताउनुभएको छ । नेपाली दर्शकमाझ पनि इश्क पस्मिना चलचित्र छिट्टै लिएर आउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button