मसिनो तथा लामो चामल उत्पादनमा परियोजना सक्रिय
जनकपुरधाम । विदेशबाट आयात भएका मसिना तथा लामो चामल खाने प्रवृत्तिलाई ध्यानमा राखेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लामो तथा मसिनो चामलको उत्पादनमा जोड दिने नीति दिएको छ ।

मसिनो तथा लामो चामल उत्पादन गर्नका लागि त्यस्तै प्रकारको धानको उत्पादन बढाउनका लागि परियोजनाको कार्यान्वयन इकाई धनुषाले चालु आर्थिक वर्षमा राईस मिल मोडल कार्यक्रम कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रममा किसानहरूले मसिनो तथा लामो जातको धान उत्पादनका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वदेशमा मसिनो तथा लामो जातको धान कम मात्रामा उत्पादन हुने गरेका कारणले भारतबाट वर्षेनी रुपमा अरबौँको चामल आयात भइरहेको छ । तराई मधेसका जिल्लाहरूमा धानको उत्पादन माग धन्दा बढी नै भए पनि मसिनो तथा पातलो लामो चामल बढी मात्रामा खाने प्रवृत्ति सर्वसाधारणमा भएका कारणले भारतबाट आयात भइरहेको हो ।
राईस मिलको क्षमता विस्तार गर्ने विषयमा जानकारी दिनका लागि मिलका सञ्चालक, किसान तथा विज्ञहरूबिच अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रियामा राईस मिलका सञ्चालकहरूले त्यस्ता धान खरिद गरेर चामल उत्पादन गर्न तयार भएको जनाएपछि किसानहरूले पनि उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्राविधिक सहयोग किसान २ परियोजनाले गरेको सो कार्यक्रममा भारतीय चामल विस्थापित गर्न स्वदेशमा नै मसिना तथा लामो चामल उत्पादन गर्नुको विकल्प नभएको परियोजनाका विज्ञ महेन्द्र प्रसाद खनाल र भरत प्रसाद उपाध्यायले जोड दिनुभएको परियोजनाका कृषि प्राविधिक तीलरुपा राना मगरले बताउनुभयो ।
राईस मिल मोडल कार्यक्रम अन्तर्गत परियोजनाका कार्यान्वयन इकाई धनुषामा राईस स्तरोन्नति सहितको कार्यक्रमका लागि ४७ लाख बजेट आएको छ ।
स्वदेशी पूँजी, प्रविधि तथा प्राविधिकद्वारा सञ्चालनमा रहेको परियोजनाले कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा यान्त्रिकीकरण गरेर खाद्यान्नमा आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने नीति लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्