समानुपातिकको बन्द सूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्द सूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ ।
विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो । उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो ।

समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कूल सदर मतको तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव पाँच प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने छ । उल्लिखित मत नल्याएमा उक्त दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न सक्दैन ।
उहाँका अनुसार दलहरूले प्राप्त गर्ने मतको आधारमा समानुपातिकतर्फका उम्मेदवारहरूको समूहअनुसार सबैभन्दा अघिल्लो पङ्क्तिमा रहनुभएको उम्मेदवार क्रमशः निर्वाचित भएको मानिने छ । उदाहरणार्थ खस आर्य समूहबाट एक जना मात्र निर्वाचित हुने अवस्था आएमा पहिलो बन्द सूचीको पहिलो नम्बरमा रहेका उम्मेदवार स्वतः निर्वाचित मानिने छ । त्यसपछि आदिवासी जनजातिको सूचीमा प्रवेश हुनेछ । त्यसमा पनि पहिलो नम्बरमा रहेका उम्मेदवार निर्वाचित भएको मानिने छ ।
आयोगमा समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रदेशसभामा भने सम्बन्धित प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित हुने प्रदेशसभा सदस्यलाई ६० प्रतिशत मानेर ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट पूर्ति गर्ने संवैधानिक व्यवस्था छ । जसअन्तर्गत प्रदेश नं १ मा ३७ जना, मधेस प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ प्रदेशसभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्