तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचन आचारसंहिता पालनामा सबै दलको सहयोग अपरिहार्य’ 

विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सम्बन्धी आचारसंहिता पालनामा सबै दलको सहयोग अपरिहार्य रहेकोमा सहभागी वक्ताहरूले जोड दिनुभएको छ ।

निर्वाचन कार्यालय प्रदेश न १ विराटनगरको आयोजनामा जिल्ला प्रशासन कार्यालय मोरङमा आज आयोजित प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा उम्मेदवारको भूमिका सम्बन्धी छलफल कार्यक्रममा उहाँहरूले आचारसंहिता पूर्ण रूपले कार्यान्वयन  गराउन अनुगमन प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले आचारसंहिता पूर्ण रूपले पालना गराउन राजनीतिक दलहरूको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्ला स्तरमा निर्वाचन प्रक्रिया सुरु भइसकेकाले भोलि हुने मनोनयन दर्ताका लागि दलहरूले समन्वय गरि मनोनयनको समय निर्धारण गरे मनोनयन सहज हुने उहाँको भनाइ थियो । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा मोरङ जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान तथा म्यादी प्रहरीसहित साढे सात हजार सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु, सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने भन्नुहुँदै उहाँले सबैलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह समेत गर्नुभयो । 

निर्वाचन कार्यालय प्रदेश न १ का प्रमुख लेमन काश्यप अधिकारीले आचारसंहिता कार्यान्वयन, मनोनयन दर्ता तथा निर्वाचन कार्यतालिका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोखरेल, नेपाली काँग्रेस मोरङका सचिव ललित श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष माधव आर्चायले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा मोरङका ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सहायक निर्वाचन अधिकृत  विभिन्न राजनीतिक दलका प्रतिनिधि, तथा जिल्लास्थित सुरक्षा निकाय तथा राष्ट्रिय अनुसन्धानका  प्रमुखको सहभागिता थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button