तपाईँ सुन्दै हुनुहुन्छः

तौथलीमा दही छ्याप्दै जात्रा मनाइयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ ।

वृद्ध वृद्धादेखि युवा जमातले दहीको ठेकी र बाल्टिनबाट अबिर मिसिएको दही निकाली एकअर्कालाई छ्यापाछ्याप गर्दै जात्रा मनाएका हुन् । तौथलीमा प्राचीन तथा ऐतिहासिक महत्त्व बोकेको त्रिपुरासुन्दरी देवीको मन्दिर छ । विशेष गरी बडादसैँको एकादशीको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । भक्तजन मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ त्रिपुरासुन्दरी देवीको दर्शन गर्न टाढा टाढाबाट आउने गरेका छन् ।

जिल्लाकै ‘छुट्टै देश’ मानिने पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरीमा ‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजा विधिसहित ल्याइएका) छ वटा परम्परागत लिङ्गोमा पूजा, सगुन खुवाएपछि बजार बीचबाट दहीको होली सुरु हुने गर्छ । भूकम्पपछि पुरातत्त्व विभागको बजेटमा पुनःनिर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरमा यो वर्ष मात्रै देवीलाई राखिएको छ ।

महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गर्नुभएको खुसीयालीमा किरात कालदेखि हालसम्म दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । दही जात्रा हालसम्म तौथलीमा मात्र मनाइँदै आएको छ । गुठियार र स्थानीयवासीले गाईभैँसी नथाकुन् र पशुपालन, व्यवसाय सप्रिँदै जाओस् भनी कामना गर्दै यसरी दही ल्याएर चढाउने गर्दछन् । दही प्रसादका रूपमा बाँड्ने गरिएको छ । हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैँको फूलपातीबाट नै सुरु हुने गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार दशमीको रात वर्षमा एक पटक देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, नागनागिनी, स्याल कहनजस्ता दर्जनौँको नृत्यसहित जात्रा लाग्ने गरेको छ । दही जात्रा सकिएपछि विधिवत् रूपमा तौथली माई अर्थात् त्रिपुरासुन्दरी माईको जात्रा यो वर्षको लागि सकिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button