कैलालीको भजनी नगरपालिका क्षेत्रका दुई सय घर डुबानमा
धनगढी । अविरल वर्षासँगै आएको बाढीका कारण कैलालीको भजनी नगरपालिका क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।
लगातारको वर्षासँगै नदीमा आएको बाढी बस्तीमा पस्दा नगरपालिका क्षेत्रका वडा न.२, ७ र ८ मा करिब दुई सय दुई घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी बेद जोशीका अनुसार काडा, पथरैया र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि घर डुबानमा परेका छन् । अहिले बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी जनकपुर, इलाका प्रहरी कार्यालय भजनी तथा पृथ्वीपुरबाट प्रहरी टोली खटिएको छ ।
बस्ती डुबान भएपछि पल्टापुरका ४० घरपरिवार स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा बसिरहेका छन् । कैलालीमा निरन्तर वर्षा भइरहेको छ।
यसैबिच अविरल वर्षासँगै कान्द्रा लगायतका ठुला साना नदीमा जलस्तर बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्