तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी: शव संकलन तथा खोजी तीव्र पार्न थप १२ सय सैनिक परिचालन

काठमाडौँ। रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी)मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। 

शव सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ।

​बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ। 

नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ।

​यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटाएको थियो। 

आज थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव सङ्कलनका लागि परिचालन हुने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र सङ्कलन गर्ने कार्यलाई अघि बढाइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button