तपाईँ सुन्दै हुनुहुन्छः

जानकीमा ७६७ घरमा पुग्दै धुवाँरहित सुधारिएको चुलो

बाँके । बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणसँगै दाउराको खपत घटाउने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण अभियान सुरु गरेको छ। हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जानकी गाउँपालिका बाँके र उपभोक्ताको लागत साझेदारीमा सुधारिएको चुलो वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर २ र ३ का २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ। गाउँपालिकाले आगामी दिनमा थप घरधुरीमा चुलो पुर्‍याउँदै ७ सय ६७ घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ।

सुधारिएको चुलो वितरण कार्यक्रमका लागि गाउँपालिकाले ६ लाख ९० हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको छ भने ३६ लाख ८१ हजार ६ सय रुपैयाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारी रहेको छ। कार्यक्रमको कुल लागतमा हरित जलवायु कोषको ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत, जानकी गाउँपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ ।

परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी गृहिणी तथा परिवारका अन्य सदस्यमा स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको अवस्थामा सुधारिएको चुलोको प्रयोगले घरभित्रको वायु प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, कम दाउरामा खाना पकाउन सकिने भएकाले दाउरा सङ्कलनमा लाग्ने समय, श्रम तथा खर्चसमेत घट्ने गाउँपालिकाको जनाएको छ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले नागरिकको स्वास्थ्य संरक्षणका लागि सुधारिएको चुलोको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार सुधारिएको चुलोले दाउराको खपत घटाउनुका साथै चुलोको कार्यदक्षता बढाउने र भान्साभित्रको धुवाँ नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ।

“सुधारिएको चुलोको प्रयोगले धुवाँमा रहेका हानिकारक कण तथा ग्यासको मात्रा धेरै हदसम्म घटाउन सहयोग गर्छ। यसबाट दम, खोकी, निमोनिया, श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी समस्या, आँखा चिलाउने र टाउको दुख्नेजस्ता समस्याको जोखिम कम गर्न मद्दत पुग्छ,” अध्यक्ष खाँले भन्नुभयो।

उहाँले गाउँपालिकाका सबै सम्भावित घरधुरीमा सुधारिएको चुलो पुर्‍याउने लक्ष्यसहित कार्यक्रमलाई क्रमशः विस्तार गरिने बताउनुभयो । स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण र नागरिकको स्वास्थ्य सुधारलाई जोड दिँदै कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ ।

सुधारिएको चुलो पाएपछि स्थानीय गृहिणीसमेत उत्साहित भएका छन्। स्थानीय नुरबानो खाँले नयाँ चुलो प्रयोग गर्न थालेपछि भान्साको काम निकै सहज भएको बताउनुभयो ।

“यसअघि भान्सा गर्न निकै समस्या हुन्थ्यो। अहिले सहज भएको छ । थोरै दाउरामा छिट्टै खाना पाक्ने भएकाले समय र दाउरा दुवैको बचत भएको छ,” उहाँले भन्नुभयो।

सुधारिएको चुलोका कारण भान्साकोठा सफा र व्यवस्थित हुनुका साथै धुवाँको समस्या पनि कम भएको खाँले बताउनुभयो। “भान्सा किन गर्नुपर्दो हो भन्ने जस्तो लाग्थ्यो, अहिले चुलो सुधारिएपछि भान्साकोठा पनि चिटिक्क परेको छ,” उहाँले भन्नुभयो।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पहिलो चरणमा २ सय ९० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले लक्षित घरधुरीमा चुलो पुर्‍याउन ढुवानी तथा वितरणको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ।

“सुधारिएको चुलोको प्रयोगले दाउरा सङ्कलनमा लाग्ने समय र श्रम घटाउनुका साथै परिवारको आर्थिक भारसमेत कम गर्न सहयोग पुग्छ। घरभित्रको धुवाँ कम हुँदा नागरिकको स्वास्थ्यसँगै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ,” उहाँले भन्नुभयो।

उहाँले गाउँपालिकाको विकास र कार्यक्रमको सफल कार्यान्वयनका लागि वडाका नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो। “सुधारिएको चुलोको प्रभावकारी प्रयोगसँगै यसको संरक्षण र निरन्तरतामा पनि नागरिकको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।

वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले कार्यक्रमको आर्थिक व्यवस्थापन तथा लागत साझेदारीसम्बन्धी विषयमा सहकार्य र पारदर्शितालाई प्राथमिकता दिइएको बताउनुभयो।

चुलो वितरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी,वडा नं  १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं २ को अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नं ३ का अध्यक्ष राज कुमार कुर्मी , वडा नं ४ का रमेश कुमार वर्मा, वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नं ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, सूचना प्रविधि अधिकृत विकास जिसी, योजना शाखा प्रमुख शोभा पौडेल, प्रशासन शाखा प्रमुख गोपी चौलागाई, जिन्सी शाखा प्रमुख राजु यादव,सामाजिक परिचालक निरा हमाल लगायतको सहभागिता रहेको थियो।

गाउँपालिकाले सुधारिएको चुलो वितरणलाई केवल चुलो वितरणको कार्यक्रम नभई नागरिकको स्वास्थ्य संरक्षण, दाउराको खपत न्यूनीकरण, वातावरण संरक्षण तथा गृहिणीको समय र श्रम बचत गर्ने एकीकृत अभियानका रूपमा अघि बढाएको जनाएको छ। लागत साझेदारीमा सञ्चालित कार्यक्रमले स्थानीयस्तरमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्दै परम्परागत चुलोबाट हुने धुवाँजन्य जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button