दुर्घटना न्युनिकरण गर्न प्रमुख राजमार्गहरूमा ‘टाइम कार्ड’

मकवानपुर । सवारी दुर्घटना न्युनिकरण तथा सवारीको गति नियन्त्रणका लागि बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरूमा टाइम कार्ड (समय सिमा) लागु गरिएको छ । चाडपर्व नजिकिएसँगै सडकमा सवारी साधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलङ्घन समेत बढ्न भन्दै टाइम कार्ड लागु गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सिन्धुली जिल्ला हुँदै जाने बिपी राजमार्ग स्थित भिमा देखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टायम कार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि लागु भएको हो ।
त्यस्तै आजदेखि मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौँडादेखि चितवनसम्म, त्यसैगरी पृथिवि राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र बिपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म राजमार्गहरूमा टाइम कार्ड लागु गरिएको बागमती प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । टाइम कार्ड लागु गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको रेग्मीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्