वीरगञ्जमा चाडबाड लक्षित ट्राफिक व्यवस्थापन सुरु
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडबाडको समयमा बजारमा हुने भिडभाडलाई नियन्त्रण गर्न चाडबाड लक्षित ट्राफिक व्यवस्थापन कार्य सुरु गरेको छ ।
घटस्थापनाबाट बजारमा हुने सवारी साधन तथा मानिसहरूको चापलाई व्यवस्थित गर्न वीरगञ्जमा लागु गरिएको वन वे लाई चौबिसै घण्टा कार्यान्वयन गरिने भएको छ ।
त्यसैगरी बजारमा प्रवेश गर्ने ४ पाङ्ग्रे सवारी साधन तथा मोटरसाईकलहरुलाई समेत यात्रुको चापलाई हेरेर घण्टाघरबाट बाइपास गरी रेल्वे रोडबाट आवतजावत गर्ने गरी व्यवस्थापन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जका प्रमुख ध्रुव दाहालले बताउनुभयो ।
उहाँले बजारमा उपभोक्ताको भिड बढ्नु भन्दा अगाडी नै गण्डकदेखि नै सवारी साधनहरूलाई बाइपास गर्ने र मेन रोडमा जिल्ला प्रहरी कार्यालय अगाडीबाट हल्का सवारी साधनहरू समेत फर्काएर बजारमा हुने भिडलाई कम गरिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको ट्राफिक प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।
वीरगञ्जको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न महानगरपालिका, यातायात व्यवसायीसँग समन्वय गरी मेन रोड पावर हाउस चोकदेखि सुख्खा बन्दरगाहसम्म हेभी सवारी साधनहरू बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने तथा बिहान ११ बजेदेखि ४ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्रै प्रवेश तथा सञ्चालन गर्न पाईने निर्णय गरिएको दाहालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्